५ असोज २०७८, मंगलबार

मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रम : अतिविपन्न परिवारलाई निःशुल्क सोलार वितरण

लेखाजोखा न्यूज
१८ साउन २०७८, सोमबार १०:५४

कालीकोट । मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटमा अतिविपन्न ५० परिवारलाई निःशुल्क सोलार वितरण गरिएको छ । मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको हो ।

उक्त कार्यक्रमअन्तर्गत गाउँपालिकाका दुई वडामा सौर्य ऊर्जामार्फत सोलार वितरण गरिएको वडा नं २ का वडाध्यक्ष गौकला सिंहले बताए । “मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रममार्फत गाउँका अति विपन्न परिवारलाई सोलार वितरण गरिएको छ”, उनले भने “उज्यालोमा बस्न नपाएका नागरिकले सौर्य ऊर्जामार्फत उज्यालो पाउने छन् ।”

प्रदेश सरकारले २०७६ देखि कर्णालीका हिमाली तथा विद्युत् नभएका क्षेत्रमा विद्युत्को पहुँच पुर्‍याउनका लागि मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर संहले बताए । “यो कार्यक्रमअन्र्तगत उज्यालो नपुगेका क्षेत्रमा उज्यालो बनाउने लक्ष्य राखिएको छ”, उनले भने, “त्यसैको आधारमा निःशुल्क सोलार वितरण गरिएको हो ।”

प्रदेश सरकारले उज्यालो कार्यक्रम कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्र्धन केन्द्रले निःशुल्क दिने र त्यसको रकम प्रदेश सरकारले नै बेहोने गरेको अध्यक्ष सिंहको भनाई छ । अहिले कर्णालीका झण्डै ३६ प्रतिशत बासिन्दा अँध्यारोमा छन् ।

३७ प्रतिशतले नवीकरणीय ऊर्जाबाट केही उज्यालो पाएका छन् भने २७ प्रतिशत जनसङ्ख्या मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँचमा छ । अझै पनि कर्णालीका ४० स्थानीय तहमा विद्युत् सुविधा नपुगेको तथ्याङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार