५ असोज २०७८, मंगलबार

पहाड र प्रेम : २२

लेखाजोखा न्यूज
१६ साउन २०७८, शनिबार १२:०७

इन्द्रेणी पहाडहरूमा
हिउँ वर्षिरहेको बेला

माया हाम्रो फैलियो
आँखाका सिमानाभन्दा टाढा
हिमाली प्रदेशहरूमा

हामी भेटिएपछि

कुलकुल बग्यो मायाको नदी
हिमाल नै उचाल्ने गरी उडे
डाँफेका ताँतीहरू
मायालु नजरले हेरिरहे
धूपीका ससाना पोथ्राहरूले

मलाई थाहा छ
डराउँदिनौ तिमी
हिउँका पहाडहरूसँग

बरु निफन्छ्यौ
हिउँ र ढुङ्गाहरूलाई

तिम्रो मायालु मुटुमा

नडराउ
मेटिने छैन
तिम्रो र मेरो मायाको इतिहास
बरु सधैँ अङ्कित हुनेछ
हिउँको चौतारोमा उभिएका
भोजपत्रका रेसा–रेसामा
हामीले भर्खरै लेखेका

ढुङ्गा र हिउँ सिँगार्ने
सजीव सूत्रहरू ।

रलिङ गुम्बा, हुम्ला

२०६५ असोज ८