ओलीसँग भेटघाटको कार्यक्रम छैन : माधव नेपाल

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार २१:१८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निजी सचिवालयले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार भेटघाट गर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ ।

सञ्चारमाध्यामहरुमा पूर्वप्रधानमन्त्रीद्वय ओली र नेपालबीच भेट भएको र हुने तय भएका समाचार बाहिर आएपछि सचिवालयले त्यसको खण्डन गरेको हो । वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले सामाजिक सञ्जालमार्फत नेताद्वयबीच भेटघाटको कुनै कार्यक्रम तय नभएको बताएका छन् ।

गौतमले भनेका छन् स् ‘विभिन्न सन्चारमाध्यमहरूमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र के।पी। शर्मा ओलीबीच आज भेट भएको र हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरूबीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।’

बिहीबारै एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले ओली र नेपालबीच भेटवार्ता हुन लागेको जानकारी दिएका थिए ।