माओवादी केन्द्रले टुंग्यायो मन्त्रीको नाम, कसले पाए कुन-कुन मन्त्रालय ?

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार २१:०६

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ । नेपाली काँग्रेससँग बिहीबार मन्त्रालय भागवण्डामा सहमति भएपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको हो ।

अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको सांसद दीपक कोइरालाले बताए । मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाका अनुसार कांग्रेसबाट मन्त्री बन्नेको टुंगो पनि आजै लाग्नेछ ।

माओवादीबाट यसअघि मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् । माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ ।

बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन् । गण्डकीमा गत जेठ २९ गते गठबन्धनको सरकार बनेको थियो ।

कांग्रेस नेतृत्वमा सरकार बनेपनि दलीय खिचातानी र मन्त्रालयको बाँडफाँडमा सहमति नजुट्दा सरकार बनेको डेढ महिनापछि मात्र मन्त्रीको टुंगो लागेको हो ।

अहिले गण्डकीमा कुमार खड्काले शिक्षा विज्ञान तथा प्रविधि र सामाजिक विकास, जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ र दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालय सम्हालिरहेका छन् । अब कांग्रेसले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि गण्डकी सरकारले पूर्णता पाउनेछ ।

कांग्रेसले कानुन, सञ्चार तथा प्रदेश सभा मामिला, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ती र भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था र वन, वातावरण तथा भू संरक्षण मन्त्रालय पाउने भएको छ ।