गण्डकीमा ६ मन्त्री थपिँदै, कांग्रेस–माओवादीबाट क–कसको सम्भावना ?

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १९:४१

काठमाडौं । गण्डकी प्रदेश सरकारले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनको साझेदार माओवादी केन्द्रले नाम दिनासाथ मन्त्रिमण्डल विस्तार गर्ने मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको तयार छ।

प्रदेश सरकार गठन भएको करिब डेढ महिना बितिसके पनि सत्ता गठबन्धन दलबीच मन्त्रालयको बाँडफाँड नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो।

सरकार अब मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ गर्न नहुने पक्षमा रहेको सरकारका प्रवक्ता एवं सामाजिक विकासमन्त्री कुमार खड्काले बताए। उनले सत्ता साझेदारमध्येको माओवादी केन्द्रलगायतका दलसँग बिहीबार निर्णायक वार्ता गरेर मन्त्रिमण्डललाई पूर्णता दिने योजना रहेको सुनाए।

११ मन्त्रालय रहेको गण्डकीमा कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले चार, जनता समाजवादी पार्टीले दुई र स्वतन्त्र सांसद राजीव गुरुङले एउटा मन्त्रालय पाएका छन् ।

अहिलेसम्म कांग्रेसबाट मुख्यमन्त्री र एक जना मन्त्री रहेका छन् भने माओवादीबाट एक जनालाई मात्र बनाइको छ। यस्तै जसपाका २ र स्वतन्त्र सांसदले एउटा मन्त्रालय सम्हालेका छन्। अब कांग्रेसका तर्फबाट विन्दुकुमार थापा मन्त्री बन्ने पक्कापक्की भएको छ।

त्यसैगरी तनहुँका दोबाटे विश्वकर्मा, स्याङजाका मेखलाल श्रेष्ठ, भागवतप्रकाश मल्ल र बागलुङका मणिभद्र शर्मा कँडेलको सम्भावना रहेको कांग्रेसनिकट स्रोतले बताएको छ।

महिला सांसदलाई पनि एक मन्त्रालय दिनुपर्ने मागसहित कांग्रेसका तर्फबाट गोरखाकी मनकुमारी गुरुङ, पर्वतकी ललितकला गुरुङ र नवलपुरकी ओमकला गौतम मन्त्रीको दौडमा छन्।

त्यसैगरी माओवादीबाट बागलुङका चन्द्रबहादुर बुढा, स्याङ्जाका दीपक घर्तीमगर, दीपक कोइराला र आशा कोइरालाको नाम मन्त्रीको रुपमा चर्चामा आएको छ।