एमालेमा आइसब्रेक : ओली-नेपाल भेटवार्ताको तयारी

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १९:१६

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताकाे तयारी छ।

दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुन लागेको हो। दुई नेताबीच बिहीबार साँझ कुनैपनि बेला भेटवार्ता हुनसक्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।

उनले भने, ‘हामीले कुरा गर्दा दुवै नेताले भेट्ने सहमति जनाउनु भएको छ। आज साँझ भेटवार्ताकाे तयारी छ।’ माधव नेपाल समूहले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको बताए।

आज भेटवार्ताकाे तयारी भए पनि समय र स्थान तय भइ नसकेको बुझिएकाे छ। नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विस्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। उनीहरुलाई बिहीबार कारवाही गर्ने भनिए पनि कारवाहीको प्रक्रिया अघि बढाइएको छैन।