निर्वाचन आयोगमा महन्थको निर्णयले पाएन मान्यता : यादव पक्षले आधिकारिकता पाउने पक्का

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १८:४६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले गरेको कार्यकारिणी समिति हेरफेरलाई मान्यता नदिने निर्णय गरेको छ ।

ठाकुरले गत पुस ७ गते एक पक्षीय रुपमा पुहिलो अध्यक्षको अधिकारका नाममा कार्यकारिणी समिति हेरफेर गरेका थिए । यादव पक्षका २० जनालाई हटाएर आफूपक्षीय २० जना थपेर कार्यकारणी समितिमा बहुमत देखाउने गरी निर्णय लिएका थिए ।

तर निर्वाचन आयोगको जसपा विववाद समाधानका लागि गठित इजलासले विहीबार ठाकुरको निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ । तत्कालीन समाजवादी पार्टी र राजपावीच एकतापछि बनेको कार्यकारणी समितिलाई मात्र मान्यता दिने आयोगको निर्णय गरेको हो ।

सोही अनुसार निर्वाचन आयोगले जनता समाजवादी पाटीका कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि साउन ११ गते विहान ११ बजे बोलाएको छ ।

विहीवार निर्वाचन आयोगको जसपा विववाद समाधानका लागि गठित इजलासले ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सशरीर आयोगमा उपस्थित हुन भनेको छ ।

उनीहरूको सनाखत गरेपछि आयोगले ११ अन्तिम फैसला सुनाउने छ । जसपाको केन्द्रीय कारिणी समितिको वहुमत उपेन्द्र पक्षले दावी गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि ठाकुर पक्षका ५ जना सांसद यादव पक्षमा लागेका छन् । आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने सम्भावना बढी छ । त्यो अवस्थामा आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि मौका दिनेछ ।

ठाकुर पक्षले संसदीय दलमा ४० प्रतिशत संख्या पुर्‍याउन सकेन भने नयाँ दल दर्ता भए पनि सांसद पद जोगाउन कानूनी अड्चन आउन सक्छ ।