प्नचण्ड, नेपाल र विप्लवसहित ६ नेता एउटै मञ्चमा

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १८:२२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेक ६ जना कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उभिन लागेका छन्। उनीहरुले पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शुक्रबार हुने कार्यक्रममा सम्बोधन गर्ने भएका हुन्।

प्रतिष्ठानले कम्युनिस्ट विचार र दर्शनबाट निक्कै टाढा पुगिसकेकाले एमाले अध्यक्ष ओलीसहित संस्थापन पक्षका कसैलाई ननिम्त्याएको जनाएको छ। कम्युनिस्ट शक्तिहरुलाई एउटै ठाउँमा भेला गर्न कार्यक्रम आयोजना गरिएको बताइएकव छ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा चन्द्रदेव जोशीसहित ६ जना नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन्।

एमाले नेता जगन्नाथ खतिवडाका अनुसार ६ जनै कम्युनिस्ट नेताहरुले शुक्रबार दिउँसो १ हुने तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सम्बोधन गर्ने छन्। सबै वक्ताले एक एक गरी आ–आफ्ना भनाइहरु राख्ने छन्।

छरिएका कम्युनिस्ट नेताहरुले पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन। यसअघि नेपाल निवासमा नेपालसहित दाहाल र विप्लवबीच भएको भेटमा ओलीबाहेक बाँकी सबै कम्युनिस्ट मोर्चाबन्दी वा एकता गर्नेबारे समेत छलफल भएको थियो।

नेताहरुले छरिएर रहेका कम्युनिस्ट नेताहरु एकजुट हुन नसक्ने स्थितिमा तत्काल मिल्ने मुद्दामा सहकार्य गरेर जानुपर्ने धारणा व्यक्त गर्दै आएका छन्।