सच्चिएर आए बाटो बिराएकालाई क्षमा दिने एमालेको निर्णय 

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १७:५२

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ।

विहीबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि बाटो बिराएका नेताहरुलाई क्षमा दिने निर्णय गरको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनले पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई कारबाही नहुने संकेत उनले गरे।

माधव नेपालसहित केही सांसदले प्रस्टीकरण दिएका छन्। यस्तै प्रवक्ता ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तुलना हुन नसक्ने बताए। उनले भने, ‘पार्टीको जनमत कांग्रेसका पाउमा बुझाउनेसँग कसरी तुलना हुन्छ?’ ज्ञवालीले एमालेविरोधी प्रवृत्तिबाट बाहिर निस्किए क्षमा गरिने धारणा ओलीले बैठकमा राखेको बताए।