प्रधानमन्त्री देउवाले बोलाए बूढानीलकण्ठमा बैठक

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १७:३१

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान ९ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा डाकेका हुन्।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए। शुक्रबारको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादको निकास निकाल्ने र तल्लो तहका पार्टी कमिटीको अधिवेशनको मिति सार्ने स्वकीय सचिव देउवाको भनाई छ।

यसअघि साउन १ र २ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बसेको थियो। बालुवाटारमा पार्टी बैठक राखेर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गलत अभ्यासलाई निरन्तरता दिएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भएको थियो। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि कांग्रेस नेताहरूले नै बालुवाटारमा पार्टीका बैठक नराख्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए।

सामाजिक सञ्जालमा आएको विरोध र आफ्नै पार्टीका नेताहरूको सुझावपछि प्रधानमन्त्री देउवा बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने निर्णयमा पुगेका छन्। अबदेखि बालुवाटारमा बैठक नराख्ने निर्णय भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए। त्यसको शुरुवात शुक्रबार बूढानीलकण्ठको बैठकबाट गरिने उनको भनाई छ।