कांग्रेसले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको बैठक नगर्ने

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १६:४४

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने निर्णय गरेका छन्।

प्रधानमन्त्री देउवाले अबदेखि कांग्रेसको बैठक सानेपास्थित पार्टी कार्यालय वा सभापतिको निजी निवास बूढानीलकण्ठमा गर्ने बताएका छन्।

यही निर्णयअनुसार सभापति देउवाले निजी निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारीको बैठक शुक्रबार बोलाएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका छन्। उनले अबदेखि पार्टीका बैठक बालुवाटारमा नहुने जनाएका छन्।

महामन्त्री खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको जानकारी दिँदै उल्लेख गरेका छन्– ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीका औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने निर्णय गरिएको छ।’

सो निर्णय कार्यान्वयन प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक पार्टी सभापतिको निजी निवास, बूढानीलकण्ठमा बस्ने जानकारी पनि उनले फेसबुकमा उल्लेख गरेका छन्।