नेपाल समूहले दियो स्पष्टीकरण : यस्तो छ जवाफ

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १६:२९

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका २२ जना सांसदले पार्टी स्पष्टीकरणको बिहीबार जवाफ दिएका छन्। एमालेको संस्थापन पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका कारण २४ घन्टे स्पष्टीकरण सोधेको थियो।

संसद पुन:स्थापना भएपछि र विश्वासको मत नपाएपछि तत्कालीन प्रधानमन्त्री ओलीले संसदीय दलको नेताबाट राजीनामा दिएर अर्को सरकार गठनको बाटो खुला गर्नुपर्नेमा त्यसो नगरेर पदमा बसिरहन खोजेकाले देउवाको पक्षमा मत दिएको उल्लेख उनीहरुले स्पष्टीकरणमा गरेका छन्। स्पष्टीकरण एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरि पठाइएको छ।

‘प्रतिनिधिसभाको पुन:स्थापनापछि पार्टी विभाजन भएको कारणले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रक्रियाको सरकार पनि बन्न सकेन,’ स्पष्टीकरणमा उल्लेख गरिएको छ, ‘वास्तवमा प्रतिनिधिसभा पुन:स्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्दथ्यो। तर, त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनुभयो।’

‘मिति २०७८।१।२७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्दथ्यो। राजीनामा नदिई पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत कुरा हो,’ स्पष्टीकरणमा ओलीमाथि आरोप लगाउँदै भनिएको छ, ‘त्यसैले त्यस्तो कार्यको विरोधस्वरुप विभिन्न क्रियाकलापहरु भएका हुन्। त्यस्ता क्रियाकलापलाई विधानविपरीत भन्न मिल्दैन।’ उनीहरुले आफूले पार्टीको विधानविपरीत कुनै क्रियाकलाप नगरेको दाबी समेत गरेका छन्।

एमालेको संस्थापनले २४ घण्टे स्पष्टीकरणमा देउवालाई विश्वासको मत दिएको कुनै उल्लेख नगरीकन पार्टी र संसदीय दलको विधानविपरीत काम गरेको आरोप लगाउँदै नेपाल समूहका २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाकामा लेखिएको स्पष्टीकरण बुधबार पठाएको थियो।

नेपाल समूहका २२ जना सांसदले यो विषय पनि आफ्नो जवाफमा उल्लेख गरेका छन्। उनीहरुको तर्कअनुसार ओलीले संसद दोहोर्‍याएर भंग गरेकाले संसदको पुनःस्थापना तथा वैकल्पिक सरकार गठन गर्न प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका हुन्। र, यस आधारमा आफूहरुमाथि एमालेले कुनै कारवाही गर्न नमिल्ने तर्क पनि उनीहरुले गरेका छन्।

सर्वोच्चले फागुन २३ गते गरेको निर्णयको पालना ओलीले नगरेको र नवौं महाधिवेशनविपरीत काम गरेको आरोप पनि २२ जना सांसदले दिएको जवाफमा लगाएका छन्।