भेरोसेलको १० लाख मात्रा खोप आइपुग्यो, १० लाख मात्रा भोलि आइपुग्ने

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १५:२१

काठमाडौं । कोरोना महामारीविरुद्धको चिनियाँ भेरोसेल खोपको १० लाख मात्रा बिहीबार दिउँसो सवा २ बजे नेपाल ल्याइएको छ। चीनको राजधानी बेइजिङबाट नेपाल वायुसेवा निगमको वाइडबडी हवाईजहाजले खोप ल्याएको हो।

निगमको हवाईजहाज बिहीबार राति ११ बजे खोपको थप १० लाख मात्रा ल्याउन बेइजिङ जाने र भोलि दिउँसो २ बजे नेपाल आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताएका छन्।

नेपालले भेरोसेल खोप उत्पादक चिनियाँ कम्पनी साइनोफार्मासँग किनेको ४० लाख मात्रामध्ये खोप ल्याउन शनिबार निगमको सोही वाइडबडी हवाईजहाज बेइजिङ जानेछ।