अधिकांश बैंकले घटाए ऋणको ब्याजदर

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १४:३७

काठमाडौं । देशका अधिकांश वाणिज्य बैंकले साउन १ देखि नै लागू हुने गरी ऋणको ब्याजदर घटाएका छन्। उनीहरुले बिहीबार ऋण र निक्षेप दुवैको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

यतिबेला अधिकांश बैंकमा तरलता धेरै भएकाले ब्याजदर अझै घट्ने नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकुमार उपाध्यायकाले बताए। उनले ब्याजदर यस वर्ष निक्षेपमा १ प्रतिशत र ऋणमा झन्डै १.५ प्रतिशत घटेको बताए।नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले ऋणमा लिने ब्याजको आधार दर घटाएका छन्। बैंकहरुले आधार दरअनुसार ऋण दिने हुँदा ऋणको ब्याजदर घटेको हो।

अहिले बैंक, विकास बैंकलगायत विभिन्न वित्तिय संस्थाहरुमा करिब ४७ खर्ब १२ अर्ब रुपैयाँ निक्षेपका रुपमा जम्मा छ। यसैगरी उनीहरुले ४१ खर्ब ५६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्, जसमध्ये बैंकहरुको हिस्सा धेरै छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुमा मात्रै ४१ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप जम्मा छ।