भारतको चर्चित दैनिक भास्कर पत्रिकाको कार्यालयमा छापा

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १३:५५

एजेन्सी । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा बिहीबार बिहान सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको छ।

सीबीडीटीका प्रवक्ता सुरभि अहलूवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारेको पुष्टि गरेकी छन्।

सुरभीका अनुसार , ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेशन चलिरहेको छ । यसबारेमा हामी अहिले यतिमात्र बताउन सक्छौँ।’ दैनिक भास्करका नेशनल एडिटर लक्ष्मीप्रसाद पन्तले सीबीडीटीको टोली जयपुर कार्यालयमा पुगेको खबर पाएको बताएका छन्।

दैनिक भास्कर भारतको चर्चित हिन्दी अखबार हो। यसले कोभिड महामारीको समयमा खोजमूलक समाचारहरू प्रकाशित गरेको थियो जसमा सरकारले महामारी व्यवस्थापनमा गरेको कामहरुमाथि प्रश्न उठाएको थियो।

दैनिक भास्करको कार्यालयमा मारेको छापाको विरोधमा विपक्षी सांसदहरुले नाराबाजी गरेपछि भारतको लोकसभासहित दुवै सदन स्थगित भएका छन्। दुवै सदन दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विपक्षीले दैनिक भास्कर कार्यालयमा छापा मारेर मिडियालाई तर्साउन खोजेको आरोप पनि लगाएका छन्।