विषाक्त मदिरा प्रकरण: मृतकले खाएको खाजा र मदिरा परीक्षण गरिने

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १२:५६

काठमाडौं । विषाक्त मदिरा सेवनपछि बिरामी भई चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी बागलुङ सदरमुकाम फर्किएको छ।

गलकोट नगरपालिका–७ पुगेको प्रहरी नायब उपरीक्षक (डिएपी) इकबाल हवारीको पाँच सदस्यीय टोली स्थलगत अनुसन्धान गरेर फर्किएको हो। प्रहरीले मृत्यु भएका र सिकिस्त मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर फर्किएको हो।

प्रहरीले घटनास्थलबाट ल्याएको मदिरा र खाना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी गरेको प्रहरी उपरीक्षक (एसपी) कृष्णबहादुर पल्ली मगरले बताए। गत सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा र चाउचाउ, दालमोठ खाएपछि बिरामी परेका चार जनाको मंगलबार बिहान मृत्यु भएको थियो। दुई जना सिकिस्त मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रवीन घर्ती, ५१ वर्षीय रेखबहादुर राना, २१ वर्षीय दीपेन्द्र पुनमगर र ३९ वर्षीय दूधबहादुर राना हुन्।

घटनास्थलमा पुगेको प्रहरीले मजदुरले सधैँ मदिरा खाने गरेको र त्यो दिन पनि त्यसै भएको बताएका थिए। शव धौलागिरि अस्पतालको शवगृहमा राखिएको छ। रोल्पाबाट आफन्त बुधबार बिहानमात्रै बागलुङ आइपुगेका छन्। आफन्तले भने रिपोर्ट आएपछि मात्रै शव बुझ्ने बताउँदै आएका छन्।