नेपालका बैंकलाई ह्याकरको यस्तो चेतावनी, कुन कुन बैंक छन् निशानामा?

लेखाजोखा न्युज
७ श्रावण २०७८, बिहीबार १२:३८

काठमाडौँ । नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याकरले चेतावनी दिएका छन् । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ ।

बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका जनाएको छ । आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जाकारी दिएका छन् ।

उनका अनुसार इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ तर कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन ।

ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स बैंक इन्टरनेसनल, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरी ती बैंकको सिस्टम ह्याक गरेर रकम निकालिने बताइएको छ ।

’मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो (नेपाल राष्ट्र बैंकको) र बैंकहरूको सिस्टम चेक ग¥यौं, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन’, उनले भने, ’यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ ।’ कसैले धम्क्याउने प्रयोजनका लागि पनि उक्त इमेल र फोन गरेको हुनसक्ने आशंका गरिएको बैंकका अधिकारीहरु बताउँछन् ।

साथै सो म्यासेजमा आफूले पठाएको सन्देशलाई हलुका रूपमा नलिन ह्याकरले चेतावनी पनि दिएको छ ।