कोरोना प्रभावित उद्योग व्यवसायका लागि राहत प्याकेज आउँछ : प्रधानमन्त्री देउवा

लेखाजोखा न्युज
६ श्रावण २०७८, बुधबार १६:४७

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना प्रभावित उद्योग व्यवसायका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन्। साथै उनले सबैलाई कोरोनाविरुद्ध निःशुल्क खोप लगाउन सरकार कटिबद्ध रहेको पनि उल्लेख गरेका छन्।

प्रधानमन्त्री देउवाले नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोरोना महामारीबाट देशका उद्योग व्यवसायमा पनि ठूलो नोक्सानी पुगेको उल्लेख गरे।

उनले कोरोना प्रभावित उद्योग व्यवसायलाई प्रोत्साहन दिन राहत प्याकेज ल्याउन लागेको बताए। अहिले मुलुक कोभिडको असरबाट बौरिन प्रयासरत रहेकै बेला तेस्रो लहर आउन सक्ने स्वास्थ्यविदहरुको भनाइले सर्वसाधारणमा त्रास अझै बढाएको प्रधानमन्त्री देउवाको भनाइ छ।

कोरोना महामारी परास्त गर्न सबै नेपाली एकताबद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएकाले उनले सबैलाई निःशुल्क खोप दिन सरकार लागिपर्नेमा विश्वस्त हुन अनुरोध गरे।