बिपी फगत सम्झन सिवाय के गर्न सक्छु म सुरेश जोशी

लेखाजोखा न्युज
६ श्रावण २०७८, बुधबार ०७:०८

सुकिला मुकिलाहरुको रजाइँ चलेको बेला
पाखुरा सुर्क्याउँदै विचार दबाएर

विधिको होइन बलको शासन चलेको देख्दा
फगत तिमीलाई सम्झन सिवाय

के गर्न सक्छु र म
तिमीले देखाएको बाटो

तिम्रै औंला समातेर
टुकुटुकु हिँड्न सिकेकाले

बिर्सेका बेला
पार्टीनामका पछाडि तिमीले जोडेको

राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारालाई
मिथ्या फुर्का जोडेको साबित गर्न तम्तयार जमात देख्दा

तिमीलाई सम्झन सिवाय
के गर्न सक्छु र म

समाजवादका लागि उत्पादकत्व वृद्धिमा जोड दिन
पुँजीवादको आवश्यकता देख्ने तिमी

स्वास्थ्यको समस्यामा खानेपानीको सम्बन्ध खोज्ने तिमी
सिंहदरबारमा किसानको फोटो खोज्ने तिमी

तिम्रै सन्तानको
द्रव्य मोह र वैचारिक स्खलन देखेर

तिमी नै खिन्न भएको बेला
फगत तिमीलाई सम्झन सिवाय

के गर्न सक्छु र म
हुन त तिमीले नै भनेको बिर्सेको छैन म

सुकिला मुकिलापछि
एक दिन फेरि इमान्दारिताको जित हुने छ

कालो बादल फाटेर फेरि घाम लाग्ने छ
त्यही दिनको प्रतिक्षामा तिमीलाई सम्झन सिवाय

के गर्न सक्छु र म

–  सुरेश जोशी
डडेल्धुरा