साइबर आक्रमणकाे आरोप निराधार: चीन

लेखाजोखा न्युज
५ श्रावण २०७८, मंगलवार १६:३८

एजेन्सी। चीनले माइक्रोसफ्ट कम्पनीमा साइबर आक्रमण गरेको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको बताएको छ ।

बेलायत, अमेरिका र युरोपेली युनियनले माइक्रोसफ्टकाे सर्भरमाथि आक्रमण गरेर चीनले ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएपछि चीनले त्यसको प्रतिवाद गरेको हो । चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ ।

पश्चिमा देशहरूले चीनमाथि एकै पटक धेरै संस्थामा आक्रमण गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाएका छन् । चीनले यसअघि लगाइँदै आएका साइबर आक्रमणका आरोपलाई पनि कडाइका साथ अस्वीकार गर्दै आएको छ ।

अमेरिका, बेलायत र युरोपियन युनियनले चिनियाँ रक्षा मन्त्रालयले समेत जासुसी गर्दै आएको आरोप लगाएका छन् । यो आरोपपछि चीन र पश्चिमा देशबीच तनाव बढ्न सक्ने सङ्केत देखिएको छ ।

चीनले सबै प्रकारका साइबर अपराधको विरुद्धमा आफू दृढ रहेको बताउँदै आएको छ ।