पहाड र प्रेम : २० डा दामोदर पुडासैनी

लेखाजोखा न्युज
२ श्रावण २०७८, शनिबार ११:५७

तिमीसँग हिमालमा हिँडिरहेको बेला
नसोध हालखबर

मेरो मुटुमा हिमाल नै पसेको छ
तिम्रो रूपमा

बाटाहरू
चिप्ला छन्
उकाला छन्

पहिरो र खहरे छन्
कति सजिला लागिरहेछन्
हामी दुवैलाई

जिन्दगीका हरेक बाटा र उकालाहरू

उचाई चुम्ने हामी दुईको यात्रामा
हिमालमा टाँसिएको घामभन्दा
उज्यालो भएको छ हाम्रो मुहार

 

उकालो चढ्दाको क्षण
बनेको छ जिन्दगीको सूर्यमुखी

दूधधारा बनेर उक्लिरहेछन्
अनन्त झरना

हामी दुईको मायाको जरुवा
कसले बढी पिइरहेछौँ
छुट्याउन सकेका छैनन्

आकाशमा तरङ्ग छर्ने
यी हिमालहरूले

हिमाल चढ्दा
हिमालभन्दा
अलि धेरै चम्कियो

तिम्रो मुहार
म हिमालका चुचुराहरूमा
तिम्रो मायाको तातो छामिरहेछु ।

लिमाटाङ, हुम्ला

२०६५ असोज ८