‘मोक्ष ‘अयोग्य लडाकुहरूको कथा बुनिएको उपन्यास हाे: अविरल

लेखाजोखा न्युज
१२ असार २०७८, शनिबार ०८:४१

कवि तथा उपन्यासकार सिर्जन अविरलकाे महत्वाकांक्षी उपन्यास ‘मोक्ष ‘ छिट्टै साहित्यका पाठकहरू मांझ आउने तयारीमा छ ।  उपन्यासमा विगतको दसवर्षे जनयुद्धका अयोग्य लडाकुहरूको कथा बुनिएको छ ।  यसै पूर्वसन्ध्यामा  हामीले कवि तथा उपन्यासकार सिर्जन अविरलसँग कुराकानी गरेका छाैं । प्रस्तुत छ उपन्यासकार अविरलसँग गरिएकाे संक्षिप्त कुराकानी ।

तपाईंको लेखन किन अलगधारको छ ?

म अलग धारबाट नै हिँड्न रूचाएँ। अरूले कसरी लेख्छन् भन्ने भन्दा पनि मैले आफ्नै तरिकाले लेख्न मन पराएँ । वितेको लामो वर्ष मैले जे देखेँ त्यो समाजको छायाँ थियो। म हुर्किरहेको समाजमा जे देखेँ त्यो आफ्नो शैलीमा लेखेँ । र, विचारको रङ् भर्ने प्रयत्न गरेँ । हरेक पटक विचार पस्किँदा कला नभत्कियोस् भनेर डराइरहेँ। सपना बोकेर हिँडिरहेका तमाम मान्छेहरू भेटेँ। उनीहरूको भत्किएको सपना पनि देखेँ । ब्यक्त गर्ने शैली र विषय अलग छानेकै कारण म अलग धारमा देखिएँ।

तपाईंको अलगधारको लेखनसँग पनि कैयौं पाठकहरु रुची राख्छन् । पाठकहरुलाई कसरी न्याय गरें जस्तो लाग्छ ?

पाठले आज नयाँ कुरा चाहिरहेका छन् ।नयाँ कुरा नयाँ तरिकाबाट आओस् भन्ने अपेक्षा हुन्छ पाठकको । चाहे त्यो प्रेम वा युद्धकै विषय किन नहोस् । साहित्यमा आउँदा नयाँ कुरासहित नयाँ बाटो आएको हेर्ने चाहना हुन्छ उनीहरुको । यसकारण पनि मैले दशवर्षे जनयुद्धको समयलाई नै थिम बनाएर लेखेका कतिपय कविता र रचनाहरूले उनीहरूलाई खिच्न सफल भयो। अब कुरा रह्यो न्याय र अन्यायको । अरूले नदिएको युद्धको विषय लिएर फरक तरिकाले म पाठकमाझ पुगँ । के यो नै पाठकहरुको लागि न्याय होइन र?युद्धकै मैदानबाट युद्धकै विषय बोलिरहेका कवि कति होलान् वर्तमान नेपाली साहित्यमा?

सिर्जनात्मक अलगधारमा बाद र गुणगान कत्तिको आवस्यकता हो ?

म यी दुबै कुरालाई खास महत्व दिन्नँ । लेखकको काम लेख्ने हो । अलग धारमा लेख्नको लागि वाद र गुणगानको कुनै आवश्यकता म देख्दिनँ । वादलाई खोजी बस्ने काम समालोचकको हो। ठिक्क प्रशंसाले लेखनमा ऊर्जा थप्छ तर अधिक प्रशंसाले लेखकलाई सिध्याउँछ। सकरात्मक चिन्तन र परिवर्तनको बाटोमा लेखक उभिएको हुनुपर्छ भन्ने मेरो मान्यता हो।

लेख्न र पढ्न कस्तो किसिमको वातावरण सहज लाग्छ तपाईंलाई ?

अध्ययन र लेखन दुबै कुराको लागि शान्त र एकान्त वातावरण आवश्यक छ। भीडमा गम्भीर प्रकारको अध्ययन र लेखन सम्भव छैन।

तपाईंले लेखेका कविता सम्बोधन गरिएकै बर्गलाई मन परेका, मन नपरेका या अर्को बर्गलाई मन परेका त्यस्ता उदाहरण छन् ?

बढो गज्जबको प्रश्न गर्नुभयो । मैले लेखेका कविता लक्ष्क्षित वर्गले त मन नपराउने कुरै भएन। यो मैले प्रत्यक्ष अनुभव गरिरहेको छु। अझ लक्ष्क्षित वर्गभन्दा बाहिरबाट पनि राम्रो रूचाइएको पाएको छु।

पढ्न बस्ता होस् या लेख्दा तपाईंको रुची ज्यादा कवितामा कि निबन्धमा ?

पढ्न बस्दा होस् या त लेख्न बस्दा मेरो रूचि ज्यादा कवितामा रह्यो। थाहा नै नपाई म कवितातिर खिचिएँ। निबन्ध पनि मेरो रूचिको विषय हो। कविताभित्र पनि समेट्न नसकिएको विचार म निबन्धमा खोजिरहेको हुन्छु।

पाठकले तपाईंका कुन बिधालाई रुचिपूर्वक पढेका छन् जस्तो लाग्छ ?

पाठकले मेरा कविताको बारेमा ज्यादा वहस चलाइरहेका छन् । मेरा कविताप्रति उनीहरूको आकर्षण देख्दा म निकै खुशी हुन्छु। यद्यपि पछिल्लो समयमा मेरो आख्यानले पनि उनीहरूलाई तानेको देख्दा निकै रमाइलो लागेको छ।

लेख्न बस्नु अगाडि बिषयबस्तु छ्नोट गरिसक्नु भएको हुन्छ कि कल्पनामा लेख्नुहुन्छ ?

लेख्न बस्दा म प्राय विषयवस्तु छनोट गरिसकेको हुन्छु। कुनै विषयको एउटा धमिलो चित्र होस् या उज्यालो चित्र बोकेर त्यसलाई कसरी भन्ने भनेर सोचिरहेको हुन्छु। प्राय गरेर विषय अगाडि नै तयार हुन्छ । कहिलेकाहीँ लेख्न बसिसकेपछि पनि विषय आफैं तयार भएर देखा पर्छ।

तपाईंले आँफैले लेख्दैगर्दा आफ्नो लेखनी कुनै लोकप्रिय लेखकको धारसँग मिल्दोजुल्दो छ जस्तो अनुभुती भएको छ ?

यो कुरा मैले भन्दा पनि पाठकले भन्ने कुरा हो। सकेसम्म अलग तरिकाले अलग धारबाट लेख्ने इच्छा हरेकको हुन्छ।यसो हुँदा हुँदै पनि आफूले रूचाइएको लेखकलाई धेरै पढिँदो रहेछ यस्तो हुँदा नचाहेर पनि केही प्रभाव पर्नु स्वाभाविक नै हो।

कविता या निबन्ध के लेख्दा आनन्द आउँछ तपाईंलाई ?

म कवितामा ज्यादा रमाउने भएको कारण निबन्धको तुलनामा कविता लेख्दा बढी आनन्द आउँछ। त्यसो त निबन्धमा पनि नरमाउने भन्ने कुरै होइन। फरक यत्ति हो कि कुनै विषयले कविताको माग गरेको महसुस हुन्छ त कुनै विषयले निबन्धको ।

अहिले तयारी गरिरहनु भएको पुस्तक कुन बिधाको हो ? के कुरा समेटिएको छ त्यसमा ?

अहिले तयार गर्दै गरेको पुस्तक आख्यान हो। धेरै अघि लेखिनुपर्ने विषयलाई म बल्ल खोज्दै छु आफैंसँग । यो विगतको दसवर्षे जनयुद्धको विषयमा केन्द्रित छ। विशेष गरेर तत्कालीन समयमा प्रत्यक्ष रूपमा आफैंले भोगेको समयलाई लेख्ने प्रयास गर्दै छु।

No description available.

लेखन क्षेत्रमा नआएको भए कहाँ हुनुहुन्थ्यो होला अहिले ?

लेखनमा नआएको भए वकालत गरिरहेको हुन्थेँ होला । साहित्यमा तानिएर विविएस सकेपछि पनि मैले पुन मानविकी शास्त्रमा नेपाली विषय लिएर एम् ए पूरा गरें । साहित्य पछिको मेरो रूचि कानुन हो। सायद यो क्षेत्रमा नतानिएको भए म झगडियाको तमसुक लेखिरहेको हुन्थेँ ।

लेखन मार्फत राजनीतिक टिप्पणी गर्न मन पराउनु हुन्छ ?

लेखनमार्फत हरेक विषय छोइन्छन्। प्रतिकात्मक रूपमा राजनीतिको टिप्पणी त गरेको छु। तर राजनीतिलाई छुँदा डर लागिरहेको हुन्छ ।कतै कला हराएर नारा र राजनीति मात्र हाभि हुने त होइन भन्ने लाग्छ । यसकारण म सिधै यस्तो टिप्पणी गर्न डराउँछु।

अरुका सिर्जना कत्तिको पढ्ने गर्नुभएको छ ?

आफूले नयाँ र केही फरक लेख्नको लागि अरूको पढ्न आवश्यक छ। म विशेष गरेर समकालीन पुस्तालाई पढिरहेको हुन्छु।

आँफुलाई मन परेको लेखकको सिर्जनाको अभिव्यक्ति आफ्नो सिर्जनामा दिने चाहना हुन्छ कि नाइँ ?

आफ्नो सिर्जनामा आफ्नै अभिव्यक्ति दिन चाहन्छु । मन परेका लेखकको सिर्जना पढेर त अझ आफ्नो नयाँ धारणा बनाउने हो। नयाँ ढङ्गले विश्लेषण गर्ने हो। तर, आफ्नो रचनामा दिने अभिव्यक्ति आफ्नै हुनुपर्छ भन्ने लाग्छ ।

तपाईंको जीवनमा प्रभाव पारेका कोहि लेखक, कुनै कृती या कुनै अंश छन् ? 

मेरो जीवनमा केही लेखकहरूले प्रभाव पारेका छन् । केही कृतिले जीवनको परिभाषा नै बदलेझैं लाग्छ। पुस्तकका केही अंशहरू पनि छन् स्मरण गर्न लायक। म्याक्सिम गोर्की र ‘आमा ‘ उपन्यास, ध च गोतामे र ‘घामका पाइला ‘,पारिजात र ‘अनिदो पहाडसँगै ‘ त्यस्तै अर्नेष्ट हेमेङगोएको बुढो मान्छे र समुद्र।

कस्का लागी लेख्नुहुन्छ ?

No description available.

म यसका लागि र उसका लागि लेख्छु भनेर ठुल्ठुला गफ लडाउने पक्षमा छैन। म सबैभन्दा पहिले आफ्नै लागि लेख्छु । कि आफैं असन्तुष्ट भएको विषयमा लेख्छु कि त निकै मन छोएको विषयमा लेख्छु। लेखेको कुराले आफूलाई सन्तुष्टि दिएपछि बल्ल बाहिर सार्वजनिक गर्छु।त्यसपछि त्यसले ककसलाई छुन्छ र ककसलाई प्रभाव पार्छ त्यो अलग कुरा हो। म पनि यही समाजको सदस्य भएको कारण मलाई छुने कुराले समाजका धेरै वा थोरै मान्छेलाई छुनु स्वभाविक हो।

लेखनबाट सन्तुष्ट हुनुहुन्छ ?

म पूर्ण सन्तुष्ट छु। यदि सन्तुष्ट नभएको भए यो यात्रामा यसरी अल्झिरहने नै थिइनँ । यो लेखनको यात्रा आफ्नै रहरको उपज हो । यद्यपि क्रमशः जिम्मेवारीको बोध गरायो। यो क्षेत्रमा नभएको भए यति प्रिय साथीहरूबाट निकै टाढा हुने रहेछु। जीवनको एउटा रमाइलो अध्याय छुट्नेरहेछ।

पठनयोग्य १० किताबको नाम दिनु पर्यो भने कुन कुन भन्नुहुन्छ ?

अन्धवेग, आमा, अलिखित,शिरीषको फूल, घुम्ने मेचमाथि अन्धो मान्छे, हिटलर र यहुदी, एब्स्ट्रयाक्ट चिन्तन प्याज, बुढो मान्छे र समुद्र, बेलायततिर बरालिँदा, सालिक

नयाँ पुस्ता सहित सबैलाई अन्तिममा के भन्नुहुन्छ ?

नयाँ पुस्ताले लेख्न हतार गरिरहेको छ। गहिरो साधना जरूरी देखिन्छ । नयाँ पुस्ता रहरभन्दा पनि जिम्मेवारीसहित अगाडि बढोस् । अन्ततः यो महिनाभरि कायाकैरनमा प्रकाशित मेरा रचनाहरु पढेर प्रतिक्रिया व्यक्त गर्नुहुने सबैप्रति आभार प्रकट गर्छु । त्यस्तै लेखाजोखा टिम र विशेष गरेर रमेश जोशीजीलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।