विपक्षी गठबन्धनलाई थप मजबुद बनाउने काँग्रेस केन्द्रीय समितिको निर्णय

लेखाजोखा न्युज
४ असार २०७८, शुक्रबार १९:५३

नेपाली काँग्रेसले विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढाउने बताएको छ। विहीबार र शुक्रबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उक्त निष्कर्ष निकालेको हो।

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ ।

बैठकपछि काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘हामी चाहन्छौँ लोकतन्त्रको रक्षा होस् । संविधानको रक्षा होस् । र त्यसमा जो पार्टीहरू व्यक्तिहरु जोडिन चाहनुुहुन्छ, उहाँहरुलाई जोड्दै यसलाई अझ मजबुतका साथ अगाडि बढाउने छौं ।’

संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि प्रधानमन्त्री ओली विरुद्धको बृहत मोर्चा एकताबद्ध बनाएर जाने बैठकको निष्कर्ष रहेको महतले जानकारी दिए ।

ुवर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मुल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ । लोकतन्त्रमा र संविधानमा विश्वास गर्छ ती पार्टीहरू र समुहहरुलाई जोड्दै एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले गरेको छ,’ महतले भने ।