असारे गीत नरबहादुर साउँद

लेखाजोखा न्युज
३ असार २०७८, बिहीबार १७:४८

असार मैना पानी है पऱ्यो, दर्दर दर्केर ।
 खेतीका काम डटेर गर्नू, नबोल्नू झर्केर ।।

 दुई पेट टम्म नभएसम्म, घाँसमा चराई ।
 पकाई खोले हरियो घाँस, दिन्थ्यौँ गोरुलाई ।। 
जोतेर खेत चढेर दाँदे, बेसरी हिल्याई । 
समाई पुच्छर कुदाई गोरु, हिलोमा रमाई ।।

 असार मैना पानी है पऱ्यो, ........... 

असारे गीत गाउँदै नारी, हिलोले रङ्गाई ।
 छुपुमा छुपु रोपेर बेर्ना, गरिन्थ्यो रोपाइँ ।। 
खेतमा धेरै गोठको मल, हालिन्थ्यो कुहेको ।
 त्यो माटो हुन्थ्यो नरम कालो, उब्जाउ मलिलो ।।

 असार मैना पानी है पऱ्यो, ........... 

काटिन्थ्यो धान चुटिन्थ्यो साथ, पराल चारा हुने ।
 उपज हुन्थ्यो तागती स्वस्थ, वर्षैभरि पुग्ने ।।
 हत्तलो पर्म मिलेर हुन्थ्यो, काम सबै मिली।
 लगानी शून्य जैविक थियो, हाम्रो राम्रो खेती ।। 

असार मैना पानी है पऱ्यो, ...........

 अहिले हेर गोठ छन् खाली, ट्रयाक्टर जोत्दछ ।
 माटोमा जान्छ किनेको मल, माटो त्यो थाक्दछ ।। 
मशीन आए रोप्ने र काट्ने, चुट्ने ठाउँठाउँ । 
हराए गीत सहयोगी भाव, भूँडी बढे हाउ ।। 

असार मैना पानी है पऱ्यो, ...........

 माटो त्यो बन्यो रुखो र कडा, गोबर नपाको । 
उपज त्यसको अस्वस्थ बन्यो, पोष कमी भाको ।।
 पालौँ न गाई भइन्छ स्वस्थ, माटो मैलो हुन्छ । 
खाएर दूध भइन्छ स्वस्थ, मोटोपन घट्छ ।। 

असार मैना पानी है पऱ्यो, ...........