सुब्बा सावको गैंडा चुरोट र उखान अंकलकाे बजेट ! ज्ञानमणि भुर्तेल

लेखाजोखा न्युज
३० जेष्ठ २०७८, आईतवार ०८:०४

हौ ज्ञानमणि बाबू !

अब देश कता जान्छ ? अनि अहिलेको बजेट कस्तो हो ? छिमेकी काकाले जिज्ञासा राख्नु भो ! मैले ओठ लेपारें ” खै !!” को भावमा ! लौ ! तपाईं जस्तो बुद्धिजिविले पनि ओठ लेपारेर धर पाउनु हुन्छ ? तपाईं त हामी भन्दा धेरै जान्ने मान्छे ! लु भन्नुस !!!

अक्सिजन र कार्वनडाईअक्साईडको ज्ञाता बनमन्त्री , सामसुङ्गको आईफोन बोक्ने सञ्चारमन्त्री अनि कोरोना संक्रमीत सबैलाई जिउँदै श्रद्धाञ्जली दिने नेता भएको मुलुकमा उहाँले म जस्तो छुचुन्द्रे लाई बुद्धिजिवि देख्नु कुनै अनौठो थिएन !

ठुलै आश लिएर मेरो आश्रम आउनु भएका काकालाई कुनै न कुनै जडिबुटी त दिनै पर्यो !! उहाँको चित्त त बुझाउनै पर्यो !! निकै अधिको रोचक कथा स्मरण भो ! त्यही बाचन गर्न सुरु गरें !

उहाँ पनि चौताराको धुलो फु गरेर बस्नु भो ! सुब्बा साव ! सबैका सुब्बा साव !! याक चुरोटका अम्मली ! ६ महिना जति सुब्बाको जागीरे हुनु भएको उहाँ आजीवन सुब्बा कहलाउनु भो !

अहिलेका चम्चाले प्राचीनकालमा केही समय गृहमन्त्री भएकालाई अहिलेसम्म ” पुर्व गृह तथा उप प्रधानमन्त्री ” भनेझैं ! सुब्बा सावको दिन काट्ने मेलो अड्डा अदालत र थलो सदरमुकाम चन्द्रगढी ! बमबम चोकको उत्तम रिक्सावालाको दैनिक ड्युटी हुन्थ्यो लाने ल्याउने !

दस बज्दा नबज्दा उत्तम हाजिर – रामराम सुब्बा मालिक का साथ !! सुब्बा सावको अनौठो शौख – ज्वारिकोटको दुबै खल्तीमा याक चुरोटको प्याकेट हुन्थ्यो ! रहस्य चै अर्कै !!

खोल याककै भएतापनी एउटामा याक र अर्कोमा गैंडा हुन्थ्यो ! रिक्सा बाट झर्ना साथ ” नमस्ते सुब्बा साव “को भिड जम्मा हुन्थ्यो ! उहाँ नमस्ते फर्काउनुको साटो खल्तीमा हात हालेर चुरोट निकालेर दिनुहुन्थ्यो !

नमस्ते के का लागि थियो त्यसको जानकार हुनुहुन्थ्यो सुब्बा साव ! ” नमस्ते सुब्बा मालिक ” ! अर्को नमस्ते आयो ! याकको खोल बाट गैंडा चुरोट निस्कियो !

गाह्रो थियोे सुब्बा सावलाई ! आशाराम हरुलाई बाँडनु पनि पर्ने , महँगो याक बाँडेर साद्धे पनि नहुने !! स्तर हेरेर नजिक टाढा बिचार गरेर कसैलाई याक कसैलाई गैंडा !! अहिले याक पनि छैन गैंडा पनि छैन !

कुनै ज्योतिषीले मुलुकका उद्योगधन्धाको बलि दियो भने मोक्ष प्राप्त हुन्छ भन्देकाले गिरिजा प्रसाद आफ्नो शासनकालमै मोक्ष प्राप्तिमा लाग्नु भएकोले जचुका लाई पनि बलि चढाईयो !

जचुकाको अबसान पछि सुर्य टोबाको मार्फत पुर्व महाराज जनसेवामा लाग्नु भकोछ ! आफ्नो मिल बाट पाईलट उत्पादन गर्नुहुन्छ !! देश र जनताको स्वास्थ प्रती चिन्तित उहाँ मुलुक र जनताको भलाई खातिर बेलाबेला बक्तब्य जारी गर्नुहुन्छ र जनताले चाहेमा पुनः राजा हुने ईच्छा व्यक्त गर्नुहुन्छ !

सुने अनुसार उखान अन्कल पनि चुरोटको अम्मली रे उस समय ! उसबेला आफ्नै खल्ती बाट तान्नुपर्ने भएकोले गैंडामै चित्त बुझाउनु हुन्थ्यो याक धान्न नसक्ने भएर ! अहिले राष्ट्रीय खल्तिनै आफ्नै खल्ती सरह भएको छ !

चुरोट मिल मालिक संग हिमचिम बढेको कारण उसबेलाको याकको तलतल यसबेला सुर्या बाट मेटाउदै हुनुहुन्छ ! सस्तो पाईलट तिर आँखा लाग्दैन ! दुबै खल्तीमा सुर्याकै प्याकेट हुन्छ ! तर सुब्बा सावले झैं एउटामा सुर्या अनि अर्कोमा पाईलट बोक्नु हुन्छ ! ” बा ” भन्नेलाई सुर्या दिनुहुन्छ ” छ्या: ” भन्नेलाई पाईलटले टार्नुहुन्छ !

तपाईं बा भन्ने कि छ्या: भन्ने ? सुर्या तान्ने कि पाईलट तान्ने ? मेरो बुझाईमा मुलुक बिस्तारै बिहार तिर जादैछ ! बजेट चै सुर्या हो कि पाईलट हो ? आफैं बुझ्नुस ! के बुझ्नु भो ????

छिमेकी काकाले मलाई ध्यानपुर्वक हेर्नुभो ! केही बोल्नु भएन ! खल्तीमा हात घुसार्नु भो ! पाईलट चुरोट झिकेर सल्काएर लामो सर्को तान्दै घर तिर लाग्नु भको फेरि भेट भएको छैन ! के बुझ्नु भो कुन्नी ? थाहा भएन !