पहाड र प्रेम : १४

दामोदर पुडासैनी ‘किशोर’
२२ जेष्ठ २०७८, शनिबार १०:१४

असाध्यै मन परेपछि
चुम्बन
चुचुरामा गरे पनि हुन्छ
खोँचमा गरे पनि हुन्छ

कति राम्ररी पहिरन जानेकी
बादलु जाले

बारीका फापर, कोदो र कागुनुहरूमा
फिजायौँ कि कसो
रङरङका पोतेहरू

सुलुत्त परेको नाकमा
हिमानी बुलाकी झल्केपछि
सुनफूल होइन हिमफूल
निधारभरि टल्केपछि

रिसाए – रिसाएजस्तो गर्दै मुसुक्क हाँसेपछि
खित्का छोडेर हाँस्दाहाँस्दै
बलिन्द्र धारा आँसु बगाएपछि
कसरी रित्तै बसिरहन सक्छ र ?
न्यानो मेरो अँगालो

कतिले फोहोरी भने तिमीलाई
मैले तिम्रा ककराहरूबाट शिलाजित पिएँ
कतिले ‘तिती’ र ‘टर्री’ भने तिमीलाई
मैले तिम्रा अङ्ग–अङ्गबाट
कटुकी र पाखनवेदको उज्यालो पिएँ
यारचागुन्भुको नदी बगाइरहेकी तिमीलाई
ठिङ्ग उभिरहेकी ढिस्को मात्र ठाने अरूले
म त तिम्रा हरेक अङ्गको स्पर्शमा
तात्दै–तात्दै चुलिइरहेछु

कहिले पो हुन्छ र अप्ठ्यारो
आमाको काखमा
कहिले पो हुन्छ र पीडा
प्रेयसीको अँगालोमा

धूलो धूलो होइन
अंश हो अलिकति आमाको
काँडा काँडा होइन
पूर्वाभ्यास हो सुखद अनुभूतिको

तिमीसँग क्षण–क्षणमा लुटपुटिँदा
मेरो शरीरभरि लागेको
चिल्लो र मैलोलाई
फोहोर भने अरूहरूले
मलाई भने लागिरहेछ
श्रीखण्डे स्वरूपमा
छाइरहेकी छ्यौ तिमी
मेरो शरीरको आदि र अन्त्यमा

मन परेपछि
ढुङ्गा पनि देवता बन्छ
पसिना पनि पीयूष बन्छ
तिमी त कुहिरोको बर्को ओढे पनि राम्री
खगालो खोलेर
अजश्र हिमधारा खोले पनि राम्री

अरूले
जे–जे मा खोट लगाए तिमीलाई
म भने
तिम्रा सबै खोट र चोट
पिएर उचालिइरहेछु ।

सिमकोट, हुम्ला
२०६५ असोज २

WP2Social Auto Publish Powered By : XYZScripts.com