२२ मंसिर २०८०, शुक्रबार

सपनामा सुध्रिएका ओली बा (भाग२)

लेखाजोखा न्यूज

१८ जेष्ठ २०७८, मंगलबार ११:०५

ब्रह्ममुहुर्तको निद्रामा बा छिटोछिटो श्वास फेरीरहनु भएको थियो, हात र खुट्टाहरुहरु माथी–तल, दायाँबायाँ कम्पीरहेका थिए । सायद निद्रामा केहि एक्सन गर्दै हुनुहुन्थ्यो होला । छेवैमा निद्राबाट अवकाश पाइसकेकी महिलाले “छु जुल?” भन्दै घच्घच्याइन् । झण्डै कुटेका बा ले ।

“कति राम्रो काम भैरहेको थियो, कहाँबाट भाँजो हालेर सपना नै बिगारी दिई यस्ले !” भन्दै ओछ्यानबाट उठेर थचक्क कुर्सिमा बस्नु भयो । बालाई मानसिक पीडा छ । संगै हुर्के बढेका साथीहरुलाई औडाह भएको छ – कतै बा ले नै सबै जस, धन, ऐश, सम्मान कुम्ल्याउने हुन र आफूहरु सधैं पछिको पछिनै परिने हो भनेर । सोच्दैछन् होला ओम्नीले यिनैलाई होम्नी, सुरजले उतैमात्र उज्यालो छर्नि, वामनावतारले दानमा पाएको तीन पाउँ ललीत–धर्ती यिनकै हनुमानले पाउनि, गोकुल धूपको वास्ना उनकै घरभित्र मगमग गर्ने तर आफ्नो पालामा झ्वाम पारेको शिविरको पैसा राम्ररी बाँड्ने मौकै नपाई श्रीमतीको लागि अति महंगो तीन तोलामात्र सुन किन्न सकेकोमा आफ्नै साथीहरु रिसाएका होलान् ।

आफू प्रधानमन्त्री हुनसक्यो भने सानोतिनो पद, पैसा बाँडेर खुशी पारीराख्न भ्याउँथे भन्ने भा छ । अर्को थरीलाई अरिङ्गालभन्दा तकडा गोमनको पालनपोषण गर्न सकस परेको छ । कसैलाई अपराध लुकाउन पाउने दाउ फुत्केला भन्ने पीर छ । बालाई यिनीहरुको सबै कर्तूत थाहा छ, यिनीहरु भएसम्म देश उभो नलाग्ने विश्वास छ । चाहे रेल ल्याउन होस् वा नेपाली पानी जहाज चलाउन वा नेपालको आफ्नै स्याटेलाइट सञ्चालन गर्न आफ्नै पार्टिका विभिषणहरु अवरोध हुनेछन् भनेर । प्रतिपक्ष त माली गाई जस्तै लाग्छ बा लाई ।

गोकुलमा माधवले गोबर्धन पर्वत उचालेर इन्द्रको बर्षा र चट्याङलाई नो भन्न सक्ने माधव पनि छन् नि पार्टिमा पनि जस्ले नेपालमा सञ्चालन हुनै आँटेको विशाल जलविद्युत् आयोजनालाई समेत विश्व बैंकलाई चीठि लेखेर नो भन्दै रद्द गराई दिएका थिए । तिनीहरु देखि डर लागेको छ । उता एम.सी.सी.ले सुत्न दिएको छैन, कुन दिन सुलेमानी बनाइदिन्छ भनि निद्रानै लाग्दैन । एम.सी.सी.फेल भएमा हुन त पहिले जंगलको राजालाईनै ठोक्छन् होला, म त तुरुन्तै राजिनामा दिएर आफैले बनाएको आइफेल टावरमा लुक्न गैहाल्छु भनि मनमनै मख्ख पनि पर्छन् ।

बाले निर्णय गरिसकेका छन् कि उनको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा यीं नरकासुर, भष्मासुर, महिषासुरलाई ठेगान नलाई भएन भनेर । त्यसैले अख्तियार प्रमुखलाई निवासमै बोलाई पहिलो चरणमा तीनैजनाका फाइल सुटुक्क खोल्न लगाएर २३ घण्टाभित्र एक्सनमा उत्रिहाल्न निर्देसन् दिएछन् । प्रमाण नष्ट गर्न नपाउन भनि कमाण्डो बोलाएर तीनैजना भिलेनहरुलाई पक्रेर ल्याइएको छ । बा आफैले खोरको ढोका खोलेर पछाडीबाट हिपमा एक लात हानेर खोर भित्र हुत्याउन खुट्टा उचालेकाबेला बुढीलाई लागेको रै छ र पो ‘छु जुल’ भन्दै ब्युझाई दिएकी रैछन् । थुक्क, अलि ढीलो ब्युझाईदिएको भए कम्तिमा एउटा ठूलो ऐतिहासिक उपलब्धी त हुन्थ्यो नि! भन्दै बडबडाइ रहे बा । क्यै छैन, म फेरी सुत्छु, संवेदनशिल घडीमा उठाउने काम, त्यो पर्दैन, के भनेका थिए, हि हि गर्दै बाहिरीइन आन्टि त ।

मनको सपना पूर हुन्छ कि भन्ने आसले फेरी सुते बा त । सपना न हो, उही सपना निरन्तर किन आउथ्यो र? नागरीकताले दिमाग चाटिरहेको बेलामा टुक्का फुर्यो, “काम कुरो सफाचाट कुम्लो बोकी लाजिम्पाट ! खोप नपाएर कोरोनाले भोटहाल्ने मान्छेहरु सोत्तर भैरहेका छन् । “हमको असीलाख नागरीकता चाहिए, नही तो आपका कूर्सी गया ..” ।

विभिषणहरुबाट कुर्सी जोगाउनु परेको बेलामा बेला न कुबेला नागरिकता अध्यादेश पारित गर्नु पर्दाको राष्ट्रघाती कदमले टाउको दुखिरहेको थियो । गैर नेपालीभाषामा धम्क्याउनेसंग यसरी झोक्किए बा, “तेरो बाउले दिएको कुर्सी हो र? तेरो कुर्सी हो भने लैजा , म त ससुराली गएको बेलामा पनि सुकुलमै बसेर भोज खाने बानी परेको मान्छे, सुकुलमै बसेर प्रधानमन्त्री चलाउँछु, जे सक्छस् गर” । चायवालको गुप्तचरको हिजो अस्तिको फूर्ति सेलाएछ ।

शिवले एक जटा भूईमा पछार्ने वितिक्कै दक्ष–संहारक वीरभद्र प्रकट भएझैं सूर्यतिर राता आँखा पारी हेर्ने बितिक्कै गड्याङगुडुङ गर्दै बादल आइपुगे । के गरुँ हजूर भन्न पाएकै थिएनन्, तपाई एउटा काम गरीहाल्नुस् त! तुरुन्त र गोप्य तरीकाले गरी हाल्नुस् भनेर कानैमा फुस्फुसाए– हाम्रो देश भरीका सम्पूर्ण कित्ता जग्गाका, घरका लालपूर्जा भएका नागरीकहरु, लालपूर्जा नभएकाहरु तर अस्थायी घरटहरा बनाई बर्षौं देखि नेपालमै बसोवास गरीबसेका नागरीकहरु सबैको रेकर्ड एक साताभित्र मलाई चाहियो । “किन चाहियो सम्माननीयज्यू…” भन्दै थिए, बाले पड्काइहाले अर्को टुक्का– अर्काको घरको कुकुर पाल्यो, टोक्नको दाउ? किन र के को लागी थाहै नपाई चारै दिनमा भनेबमोजिमका लालपूर्जायुक्त नागरीकहरु र २० बर्ष भन्दा पूराना वसोवास गरी नेपाली वा भोजपूरी वा मैथली वा थारु भाषा बुझ्नसक्ने नेपालमै काम गरी बस्नेको लिष्ट तयार पारी ल्याएछन् ।

बा ले बोलाउनै पर्दैन, सोच्ने बितिक्कै पत्रकार जम्मा भए । अनि घोषणा गरे : आजसम्मका वितरण गरीएका सबै नागरीकताहरु रद्द गरीएका छन् र यो लिष्टमा भएका दुई करोड तीस लाखलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने छ । यही परिचयपत्रले आइन्दा नागरिकताको काम गर्ने छ । बिचरा बादल त ट्वाल्ल हेर्या हेरेइ । “मान्छे कसरी घटे ? तीन करोडभन्दा माथी हुनु पर्ने हैन ?” भन्दै थिए ।

बाले फेरी झाँको झारे – “किसुनजीले अनुदानमा दिएका नागरिकता उनैसंग माग्न जाओ, गिरिजाबाबुले दिएका भए उनैसंग माग्न जाओ, हाम्राले दिएका भए उनीबाटै लुछेर लैजाओ, तुमारा पि.एम.नोटबन्दी कर सक्ता है तो क्या मै मेरो देशको हीतके लिय नागरिकता बन्दी नही कर सक्ता ? बज्ज्या! भन्दिनु” भन्दै गर्जिएछन् । बिचरा कालो अनुहार लगाएका सेता बादल गृहमन्त्रालयसम्म पुग्न पाएका थिएनन् होला यता मेरो आल्राम बजेर म पो ब्युझिन पुगेछु । अर्को पल्ट आल्रामनै नलगाईकन सुत्ने विचार गरेकी छु अब त, फूल इपिसोड हेर्न मन लागेको छ ।

कन्चनपुर हाल, काठमाडौं 

यो पनि पढ्नुहोस : ‘सपनामा सुध्रिएका ओली बा’

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend