६ जेष्ठ २०७९, शुक्रबार

एक सहभागीको दृष्टिमा : लोकतन्त्र संम्वाद

लेखाजोखा न्यूज

१७ जेष्ठ २०७८, सोमबार ११:०६

मिति २०७८ जेठ १४ गतेको लोकतन्त्र संम्वादको शुक्रबारको साप्ताहिक श्रृखलामा सहभागी हुने अवसर जुट्यो। जुम कार्यक्रमका लागि आवश्यक प्रविधि मैत्री नभएको हाम्रो समाजमा यसले कति जनसंख्या समेटिएको छ परिकल्पनाकारहरुले लेखाजोखा गर्नुपर्छ। यसलाई अत्यधिक सहभागीताको वातावरण र पूर्वाधार समेतको सामुहिक चिन्तन र त्यसको यथोचित सम्बोधनको विषयहरुको महत्त्व बारे सम्बन्धित पक्ष पक्कै पनि गम्भीर छ।

युवाहरूको यो शुरुआतको प्रयास प्रशंसनीय त छदैछ तर यसको सचेतनात्मक मूल्य र समस्यालाई सार्वजनिक बहसमा ल्याउने प्रयासको छुट्टै प्रजातान्त्रिक मान्यता छ।लोकतान्त्रिक शासनलाई व्यक्ति, गुट र शक्तिको हैकमवादी निर्णयको कार्यान्वयनले व्यवस्थालाई अलोकतान्त्रिक बनाउने विषयलाई आत्मसात गर्दै शुरुआत भएको कार्यक्रम उद्देश्य मूलक र उपयोगी हुन जरुरी छ ।

यसकालागि कार्यक्रमलाई लोकप्रिय र स्तरीय बनाउने प्रयासमा निरन्तर लाग्नुपर्ने हुन्छ। यसलाई राजनीति भित्रको कुनै गुट र गुट विशेषको प्रभुत्व भन्दा स्वतन्त्र बौद्धिक चिन्तनका ,साझा, निष्पक्ष ,स्वतन्त्र साथै निर्भिक व्यक्तिहरुको संस्थागत व्यवस्था गर्दा सम्भवतः यो दिगो हुन सक्छ। सुधार, चेतना,विकास,ज्ञानको सीमा हुदैन । यी विषयहरुले समाजको गतिसंगै सुधारको सधैं अपेक्षा राख्दछन्।त्यसैले समाजको विकासको चरणसंगै यस्ता कार्यक्रम र प्रशिक्षण समाजमा सकारात्मक चिन्तन र दृष्टिकोण विकास गर्न अपरिहार्य विषय हुन।

यसलाई प्रवचन मुखी भन्दा नितान्त छलफल मुखी, प्रशिक्षण मुखी र विचार प्रधान श्रृखलाको रुपमा लैजानु उपयुुक्त होला। यसमा राजनीति ,आर्थिकसामाजि, स्वास्थ जस्ता जनताका जीवनसंग प्रत्यक्ष सम्बन्धित र जनताका जीवनलाई प्रभाव पार्ने सबै विषय वस्तुहरुलाई छलफलमा समेट्दै जानुपर्ने हुन्छ।जनताको जीवनमा लोकतन्त्रलाई कसरी अनुवाद गर्नेभन्ने विषय प्राथमिकतामा पर्नुपर्छ ।

यसकालागि देशका विषयगत विज्ञ समुहको रोष्टर बनाउने, विषयहरुको महत्त्वका आधारमा छनौट गर्ने र ज्ञान र विचारलाई बाँडने कामका दृष्टिकोणले यसलाई व्यवस्थित र नियमित बनाउने वृहत् योजना समेत यो कार्यक्रमको अपेक्षित गन्तव्यका बारे यसका परिकल्पनाकारहरु पक्कै पनि जानकार हुनुहुन्छ।त्यसको जानकारी र महत्त्वलाई आत्मसात नगरी यस्तो कार्यक्रमको खाका नै बन्दैन।

आपसमा जय नेपालको बाक्लो आदानप्रदान बीचको खलबललाई चिर्दै नृप बहादुर सुनारले त्यसबखत १ सय ५१ जना सहभागीहरु उपस्थित भएको जानकारी संगै कार्यक्रम औपचारिक बन्यो । चितवनका ऋषिश्वर थपलियाले सहभागी सबैको आकर्षक शैलीमा नामनामेसी भन्नुभयो । यो कार्यक्रमको राम्रो पक्ष लाग्यो ।सहभागी सबैको नाम उच्चारण गरेर एकमुष्ट स्वागत भएको भए सुन माथि सुगन्ध हुन्थ्यो ? समग्रमा स्वागत कार्यक्रम आकर्षक थियो ।

त्यसपछि कार्यक्रम संयोजनकर्ता नारायण प्रसाद भट्टराईले लोकतन्त्र सम्वाद श्रृङखलाको शुरुआत मुख्य वक्ता द्वय , लब्धप्रतिष्ठितहरु, कार्यक्रमका सहयोगीहरु,संस्थागत योगदान गर्नेहरु र सबै सहभागीहरुलाई स्वागत गर्दै प्रारम्भ भयो । तर यो आजको कतिऔ शृङ्खला हो त्यसको जानकारी हुनुपर्दथ्यो त्यो भएन । संक्षिप्त भूमिका पछि ‘राष्ट्रपतिको कदम पछिको राजनैतिक र संवैधानिक निकास’ विषयक अन्तर सम्वादको मुख्य विषयमा प्रारम्भ गर्न संवैधानिक कानूनका ज्ञाता बरिस्ठ अधिवक्ता डा. विपिन अधिकारीलाई समय दिनुभयो ।

डा.अधिकारीले आयोजकलाई धन्यवाद, सहभागी सबैलाई नमस्ते र जय नेपालबाट अभिवादन गर्दै वर्तमान राजनीतिको विरोध व्यक्तिका प्रति लक्षित नभएर प्रवृत्तिका प्रति लक्षित भएको भन्दै प्रधानमन्त्रीबाट संविधानले व्यवस्था नै नगरेको संसद विघटनको विशेषाधिकार बारम्बार प्रयोग गर्दा यो प्रतिकूल परिस्थिति सिर्जना हुनु देश र नागरिक कै दुर्भाग्य हो भन्नुभयो ।संविधान हामीले बेलायती संसदीय मोडलमा बनायौं तर संसद सधैं भंग गर्ने रोगलाई नियन्त्रण गर्ने प्रधानमन्त्रीको विशेषाधिकार भने संविधानले साँघुरो बनायो ।

त्यो साँघुरो विशेषाधिकारलाई फुकेर प्रयोग गर्दा नै समस्या आएको हो। यो संविधानको कमजोरी भन्दा पनि प्रधानमन्त्री हुने व्यक्तिको प्रवृत्तिगत कमजोरीको प्रतिफल हो भन्नुभयो । हाम्रो संविधानले संसदले वैकल्पिक सरकार दिनसक्ने अवस्था सबै समाप्त नहुदा सम्म संसद हठात विघटन गर्ने हाम्रो परम्परागत स्वभावलाई भने कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विधि र प्रधानमन्त्रीको स्वेच्छाचारी चरित बीचको कटाक्ष हो वर्तमान राजनैतिक संकट।

लोकतान्त्रिक संविधानको र प्रणालीको के मान्यता हुन्छ भने जननिर्वाचित प्रधानमन्त्री इमानदार, नैतिकवान, चारित्रवान, सत्य र संविधान ,कानून विधि विधान परम्परा प्रति निष्ठावान, सदाचारी, व्यक्तिगत स्वार्थ र पद प्राप्ति र थमौतिका लागि असंवैधानिक काम गर्दैन भन्ने मान्यता राख्छ। तर हाम्रा प्रधानमन्त्रीमा यो मान्यता विपरीतको चरित्र नै समस्या हो ।

तसर्थ कारणहरुलाई दीर्घकालीन समाधानको आवश्यकता प्रति वहाँ प्रवेश नगरे पनि वास्तविक समस्या नैतिकता र इमानदारीताको भएकोले यो नेपाली समाजमा नै अनिकाल पर्दै गएको नैतिकता र इमानदारीताको पुनर्स्थापनाको माध्यमबाट नै दीर्घकालीन समाधान खोज्नुपर्ने अधिकारीको आशय थियो ।

राष्ट्रपतिसँग कार्यकारिणी अधिकार हुदैन । त्यसैले उनले प्रधानमन्त्रीको सिफारिस कार्यान्वयन गर्न संविधानले व्यवस्था गरेको छ। तर संसदमा बहुमत गुमाएको प्रधानमन्त्रीको सीमित अधिकारहरु राष्ट्रपतिमा स्वत : हस्तान्तरण हुने विषयको जानकार राष्ट्रपति नहुदा र दल र अझ गुट विशेष प्रतिको झुकावले उत्पन्न विकार र विकृतिको सिकार संविधान बारम्बार भएको छ।

अल्पमतको प्रधानमन्त्रीको सिफारिस मान्य नहुने र संसदमा विश्वासको मत मसंग छैन भनेर आत्म समर्पण गर्ने प्रधानमन्त्री पुनः प्रधानमन्त्रीको उम्मेदवारको लागि अमान्य हुन्छन् भन्ने राज्य सिद्धान्तको कखरा नजानेको वा बेवास्ता गरेको परिणामले हाम्रो लोकतान्त्रिक व्यवस्था अहिले सर्वोच्च अदालतमा धरौटीमा रहनु परेको विषयलाई घुमाउरो पारामा डाक्टर अधिकारीले सम्वादका क्रममा व्यक्त गर्नुभयो ।

माननीय शेर बहादुर देउवाको दाबीलाई प्रमाणित गर्ने थलो सदन हो समस्यालाई सदनसम्म जान रोक्ने खड्ग प्रसाद ओलीक‍ो प्रपञ्चमा राष्ट्रपतिको सहयोग गर्ने चरित्र प्रवृत्ति र मानसिकता नै बढी दोषी छ।राष्ट्रपतिको पद आफ्नै योग्यता र बलबुताबाट प्राप्त नगरी गुट विशेषका सहयोगमा बनेकी राष्ट्रपतिको कार्यशैली र हैसियतको नग्न प्रदर्शनले अदालतको अवहेलनामा सम्म प्रवेश गर्ने दरो सम्भावनालाई पनि अधिकारीले संकेत गर्नुभयो । मुख्य समस्या भनेको बनिबनाउ खेलको नियम अनुसार खेल्ने कि अध्यादेश मार्फत आफैले आफैलाई उत्तम घोषणा गर्ने नियम बनाउने भन्ने प्रतिस्पर्धामा नै हाम्रो राजनीतिले लोकतान्त्रिक बाटो नै समात्न नसकेको विषयलाई सम्वादका क्रममा प्रष्ट पार्दै आफ्ना भनाइलाई टुङ्ग्याउनु भयो ।

अर्का वक्ता राजनीतिक विश्लेषक हरी शर्माले संवैधानिक नैतिकताको प्रसंगबाट आफ्ना विचार राख्न शुरु गर्नुभयो ।संविधान नेताले जनतालाई दिएका हुन कि जनताले नेतालाई यसबारे नेताहरुले बुझ्नुपर्छ ।नेपाली जनताको दशकौंदेखिको लडाइँ निमुखालाई आय र न्यायको सुनिश्चितताका लागि कि व्यक्ति विशेषलाई पदको दुरुपयोग गर्न भन्ने प्रश्न गर्नुभयो ।

बहुमत भनेको संवैधानिक मर्यादा र मूल्य भत्काउने हतियार बन्यो । संवैधानिक परिषदको निर्माण निष्पक्षताका आधारमा नियुक्ति गर्न भएको हो तर त्यो पक्षपात र विरोधीहरुलाई तर्साउने र आफूलाई अनुकूल हुने हतियार बनाउदा नै विकृतिहरु जन्मे। संवैधानिक अङ्गको प्रमुख नै पार्टी र गुटको रक्षा कवच भएको उदाहरण प्रमुख निर्वाचन आयोगको अध्यक्ष जस्तो तटस्थ र निष्पक्ष बस्नुपर्ने पदको नामै लिएर संस्थाहरुको प्रतिष्ठा कसरी स्खलित गरियो भन्ने विषय अझ जटिल लाग्यो ।

वर्तमान परिस्थिति सिर्जनामा प्रतिपक्ष पनि कम दोषी छैन भन्दै शर्माले प्रतिपक्ष नै भागवण्डामा फस्नु विकृतिको खतरनाक कारण भएको औंल्याए । लोकतन्त्रलाई कमजोर बनाउन नेताहरुको बढी हात त छदैछ त्यो कमजोरीमा हामीसबै हिस्सेदार भएकोले अब सुध्रन हामीसबै तैयार हुनपर्ने निष्कर्षका साथ संम्वाद अन्त्य गर्नुभयो ।

सहभागीहरु प्रदीपराज आचार्य, उमेशजंग रायमाझी, प्रकाश अधिकारी, तारानाथ दहाल,मञ्जित अधिकारी ,गोविन्दराज जोशी(कैलाली), विष्णु पाण्डे, गोमा आचार्य जोशी लगायत धेरै सहभागीहरुले राखेको जिज्ञासाको उत्तर पछि दुई घण्टा लामो लोकतन्त्र सम्वादको कार्यक्रम समापन भएको घोषणा संचालक नारायण प्रसाद भट्टराईबाट भयो ।

अन्त्यमा लोकतन्त्र सम्वादको सार्थकता जनताको जीवनलाई व्यबहारमा अनुवाद गर्ने क्षमता र योग्यताले मापन हुन्छ।लोकतन्त्रलाई राजनीतिसंग मात्र सम्बन्धित नगरेर यसका असीमित क्षेत्रहरु जात, धर्म, वर्ण, सम्प्रदाय, क्षेत्र, भाषा, सामाजिकआर्थिक, राजनीतिका सामान्य समस्या देखि कृषिको आधुनिककरण देखि विज्ञानका चमत्कार सम्मका विषयहरुलाई जनतासंग जोडनुपर्छ।

हाम्रो समाज पदलाई कमाण्ड गर्ने योग्यतामा हैन डिमाण्ड गर्ने योग्यतामा भरपर्छ।यो चरित्र र प्रवृत्ति प्रति यथेष्ट प्रहारको क्षमता र योग्यता आर्जन गर्दै युवाहरुलाई लगनशील र आत्मनिर्भर बनाउन पृथक शैलीमा समाजमा आफ्नो उपयोगिता स्थापित गर्न लोकतन्त्र सम्वादका अभियन्ताहरु र सहभागीहरुलाई सफलता मिलोस् । हाम्रो शुभकामना !

२०७८/२/१५ नारायण गढ,चितवन

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend