पहाड र प्रेम : १३

दामोदर पुडासैनी ‘किशोर’
१५ जेष्ठ २०७८, शनिबार १०:३९

बूढा बाबाआमाको
अनुहार नै त हो गाउँ

बाबाआमाको
चाउरी परेको अनुहारजस्तै
डाँडा, खोल्सा र पाटाहरूमा
विभाजित छ गाउँ

जिन्दगीभरिको परिश्रमपछि
बाआमाको शरीरबाट
तपतपी चुहेको पसिनाजस्तो
कुलुलु कुलुलु बगिरहेछन्
पहाडका चेपचेपबाट
पानीका जरुवाहरू

जिन्दगीभरि
जिन्दगीसँग लड्दा लड्दा

जिन्दगीको मजा
सपनामै मात्र सीमित बसेपछि
उदास बनेको बाबाका अनुहारझैँ
कहिलेकहीँ
फुङ्ग उडेर
धूलो र शुष्कताले अँचेटिएर
उदास अनुहारमा
उभिरहन्छ गाउँ

पाटा र गराहरूमा
जिन्दगीको अर्थ खोज्दै
दुःखसँग भिडिरहेका
जोसुकै परिश्रमीहरूभित्र
मलाई मेरै बाबा चलिरहेझैँ लाग्छ
बिहानलाई उछिन्दै
थुन्से र डोकाभरि घाम बोकेर
मिर्मिरेदेखि नै गोरेटा र गल्छेडाहरू नाप्ने
हरेक आमाहरू
मलाई आफ्नै आमाजस्तो लाग्छ

भोको बस्नुहुन्छ
तर, जमिन बेच्नु हुँदैन– भन्नुहुन्थ्यो बाबा
राम्रो काम जे–जति गर्नुहुन्छ
तर, खेती गर्न छोड्नु हुँदैन– भन्नुहुन्थ्यो आमा
अचेल गाउँका आली र इत्लाहरूमा
पराइले पर्खाल लगाउन थालेपछि

मलाई
बाबा र आमाका आवाजहरू नै
अवरुद्ध हुन थालेको– लागेको छ

कसरी बाँचौँला हगि हामी
यी पहेँलपुर पाटाहरूमा
ढुङ्गा, सिमेन्ट र छडहरूले छोपिएपछि
कसरी रमाउँला हगि हामी
सुखदुःखमा बाबाआमाले सल्लाह गरेर बस्ने
पिँढी, मझेरी, चौतारो र चौर नै
रातारात चौखुरिएपछि

गाउँमा खुलेका विद्यालय र महाविद्यालयहरूमा
चम्किएजस्तो लाग्छ बाबाआमाका सुन्दर आँखा
तर गाउँभित्रै
उम्रन थालेपछि हत्या, अपहरण र चोरीका गाथाहरू
एकाएक बाबाआमाका गतिमा
ऐँजेरु पलाएझैँ लागिरहेछ

बाबाआमाको अनुपस्थितिमा
बाबाआमा बनेर उभिने
मेरो गाउँको रूपमाथि
कसैले छर्किने दुस्साहस नगरोस्
विष विचारको
एक मुठी तेजाब ।

हिल्सामाडौं, हुम्ला
२०६५ भदौ ३०

WP2Social Auto Publish Powered By : XYZScripts.com