श्री प्रमुख जिल्ला अधिकारीज्यू,
जिल्ला प्रशासन कार्यालय,ललितपुर
(मार्फतः प्रधानमन्त्री निवास बालुवाटार)
निशेधाज्ञामा छ देश, महामारीको त्रासदीय प्रकोप छ, गृहबन्दी छौँ जनता ।
यो निषेधाज्ञाको अवधिमा म बालुवाटार पुग्न सक्दिन । थाहा छ, प्रधानमन्त्री सिंहदरबार आउनु हुन्न । देश सञ्चालन त उहाँको प्राथमिकतामा छैन नै । एकाध अध्यादेशका र ठेक्का पट्टाका काम गर्ने आसेपासे बालुवाटार भित्रै छन् । पार्टीका काम पनि बालुवाटारले नै धानेको छ । त्यसैले मैले माथि सम्बोधनमा निवास नै उल्लेख गरे । अन्यथा नहोस् । सम्माननीय पनि भनिन् । सपथ ग्रहणको बेलामा उहाँले नै भन्नू भएको छ त्यो पर्दैन । म पत्र मार्फत प्रधानमन्त्रीलाई केही समसामयिक कुरा राख्न चाहन्छु । यो मेरो व्यक्तिगत प्रश्न मात्र होइन । आम मानिसको भावनालाई यसले प्रतिनिधित्व गर्छ । प्रमुख जिल्ला अधिकारीज्यू यो पत्र कुनै विलम्ब नगरी, कुनै खोट तथा पूर्वाग्रह नराखी पुर्याउने ब्यवस्था मिलाई दिनुहुन अनुरोध छ ।
प्रधानमन्त्रीज्यू,
कोभिड कालिन अभिवादन !
संसार जर्जर छ । देश ठप्प छ । जनता त्रसित छन्। बन्दाबन्दीमा मानिसको संसार थुनिएको छ बाँधिएका छ । सास किनेर बाँच्छु भन्दा पनि नपाइने अवस्था छ बिरामीको । औसधी, अस्पताल, उपचार त परै छोडौँ । यतिबेला बाँच्नु नै ठूलो कुरा भएको छ आम मानिसमा । कसरी यो त्रासदी समयबाट बच्ने होला भन्ने भय छ सबैको मनमा तर सत्ता पौँठेजोरी खौज्दै र बिर्सदैँ छ कर्तव्य । अति नै संवेदनशील होइन र यो समय सत्ता र शासन भन्दा पर ?
(यो लिखतमा मुठ्ठी उठाएको देखिदैन, ठान्नु होला मैले कसिलो गरि मुठ्ठी कसेर अभिवादन गरेको छु)
विषय प्रवेश गर्छु किनकि अदालती आदेश वा अन्य कुनै पनि कारणले तपाईंको बहिर्गमन हुन सक्छ । त्यतिबेला त्यो पत्रको आवश्यक छैन भन्नु होला । पत्र पुग्न ढिला पनि हुन सक्छ । त्यही क्रममा समय अर्कै भएर पनि आउन सक्छ । सांसद किनबेच, अनेक तिकडम आदिमा लाग्नु पर्ने हुन सक्छ तपाईंलाई । यो विषय छायामा पर्न सक्छ कृपया जहिले भए पनि हेरेर मनन गर्नुहोस भन्ने अनुरोध गर्दछु ।
पटक पटक तपाईंले देशबासीका नाममा सम्बोधन गर्नु भो । यो गर्छु, त्यो गर्छु, यसो गर्नोस्, उसो गर्नोस् । तपाईंलाई त हेक्का रहन्न पनि होला । ‘अच्छूँ खाए बच्छूँ खाए झुसे बारूलो’ तर कुरा अत्यन्त संवेदनशील छ उखान जस्तो नभई ।
प्रधानमन्त्री ज्यू !
मुलुक विविध कारणले जर्जर र कमजोर बन्दै छ । प्रकृति बाहेक विधि र पद्धति अनुरूप छैनन् अरू कुरा । विकास हेर्यो गति देखेर आफ्नै मतिले सराप्न खोज्छ । अर्थतन्त्र खस्कँदो छ । रोजगारी विदेशीको भिसामा निर्भर छ । सरकारका तमाम निकाय भ्रष्टाचारको अर्बुद रोगले ग्रसित बनाएका अङ्ग जस्ता भएका छन्। आशाहरू निराशामा रूपान्तरित हुने क्रम पल पलमा मौलाउँदो छ । अख्तियार तपाईंले नचाउदा नाच्ने छ । मातहतका निकायहरू बेकम्मा साबित छन् । मन्त्रीहरू तपाईंलाई नै धारे हात लगाएर केवल लुटको लाइसेन्स प्राप्त जागिर मात्र खाँदै छन् तर तपाईं भने देश जलिरहँदा निरोले बाँसुरी बजाएर रमिता हेरे झैँ बेमौसमी बाजा बजाउन मै मग्न हुनुहुन्छ ।
नागरिकका गुनासा तपाईंसँग मात्र होइन, पूर्व शासकहरूसँग पनि थिए । कति पय तपाईं भन्दा पनि निकम्मा थिए होलान् पूर्व साशक । वर्तमानमा तपाईं त्योमहत्त्वपूर्ण स्थानमा हुनुहुन्छ जहाँ जिम्मेवारी, दायित्व, कर्तव्यको आवश्यकता हुन्छ । यतिबेलाको गुण–दोषको भागिदार तपाईं नै हो । तपाईंका राम्रा–नराम्रा कामका प्रत्यक्ष भागिदार हौ हामी । हामीले भन्ने भनेको पदिय हिसाबले तपाईंलाई नै हो किनकी अहिलेको राष्ट्रको अभिभावक तपाइँ हुनुहुन्छ । तर जन भावना र जन चाहनाको परवाह तपाईंलाई केही भएन । आफू खुसि गर्न र हुक्के, ढोकेले भने अनुरूप काम गर्न मै मग्न हुनुभयो । अझ कतिपय सवालमा आफैँ बैठके आफै ढोके बन्न पनि पछि पर्नु भएन ।
विधि, मान्यता, नियम, कानुन र पद्धति विपरीत गएर तपाईंले गरेका कामको फेहरिस्त यो पत्रमा अट्दैनन्। त्यसको छुट्टै काव्यत्मक ग्रन्थ बनाउनु पर्छ । म केही प्रतिनिधि कुरा मात्र राख्न चाहन्छु किनकी तपाइँको शासनको प्रत्यक्ष शासित जनता म पनि हुँ । देखेकै हो सस्तो लोकप्रियताको लागि अनेक बाँचा कसम । देखाउनु भएकै हो तमासा । भए नभएका उखान भित्र योजना परे, रेल
कुदे, घरघरमा ग्याँस पाइप जडिए तर सबै कल्पनाका कथा भए । सपना देख्न पाउनु पर्छ तर झुटा सपना कति देखाएर छक्याउने जनतालाई । यसो भनेर मैले तपाईंको अपमान गर्न खोजेको होइन । बहुसंख्यक जनताले यो कुरालाई उडन्ते कुरा कै रूपमा लिएका छन् तर यथार्थ मै परिणत भए हामी धन्य नि हुने छौँ । नभए पनि पछि आउने साशकले पुरा गरुन तपाईंका राम्रा योजनाहरु ।
यहाँ केही प्रतिनिधि घटना र परिघटना राख्दैछु।
तपाइँबाट देश र जनताले धेरै आशा गरेका थिए तर विधि र राम्रो परिपाटीको विकास होला भन्ने जन अपेक्षामा तुसारापात भयो । भोलीका दिनमा यसो नहोस् भन्ने ध्येयले तपाईंका केही जन चाहना विपरीतका कामको विवरणको संक्षेपिकरण गर्न मात्र खोजेको हुँ । भविश्यका शासकले यस्ता गलत कार्य नगरून भन्ने सदिच्छा हो ।
तपाईंका कार्यकालमा भएका कुराहरु :
सुशासन र शून्य भ्रष्टाचारको कुरा पटक पटकका सम्बोधनमा राग झैँआलाप्नु भयो । तपाईंका पालामा नै सरकारी स्वामित्वमा रहेका जग्गाहरू धमाधम पत्रुका मुल्यमा अनेक नामधारी यती होण्डिब्स्आदि नजिकका मानिस शेयरहोल्डर भएका संस्था र नाममा हस्तान्तरण भए । वाइडबडी खरिदमा भएको अनियमितता जग जाहेर छ । कार्यकर्ता पोस्नका लागि युवा स्वरोजगारको नामले राज्यकोषको अरर्बौं रकम गुटको भरणपोषणमा खर्च भयो । यस्तो त विगतमा पनि नभएका होइनन् तर तपाईंको समयमा अचाक्ली नै भयो ।
स्वास्थ्य जस्तो संवेदनशील कुरामा ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का उपलब्ध गराएर रेकर्ड नै तोडियो भन्छन्जानकारहरू । यी त पटके अनियमिता हुन । राष्ट्रिय गौरवका आयोजनाको बेग्लै व्यथा छ । कमिसनको टुङ्गो नलागि र ती आयोजनामा आफ्ना निकटको वर्चस्व नबनाई कुनै आयोजना पनि निर्वाध रूपमा अगाडि बढ्न पाएनन् भनौ तपाइँले प्रवाहित हुन दिनुभएन । यस्ता घटनाका जीउँदा साक्षी थुप्रै छन्। मुलुक र जनताकोविवरण राख्ने सेक्युरिटी मेसिनको खरिदमा गरेको मोलमोलाइको भिडियो सार्वजनिक हुँदा पनि लज्जा भएन । मान्छे ज्याद्रै हो ! देश र जनताको लागि अहित हो भनिएको एमसीसी सम्झौता पारित गर्न जोरजुलुम गर्नु भयो ।
त्यसबाट आई पर्ने संभावना र चुनौतीबारे जन समक्ष वास्तविकता नल्याई एमसीसी पास नहुँदै सम्झौता कार्यान्वयन गराउन ठुलै रडाको मच्चाएको पनि आम जनतामा अवगत छ । संवैधानिक अब्गलाई दलको भर्ती केन्द्र कै रूपमा रूपान्तरित गरियो। संबैधानिक परिषदको निर्णय बिना र संबैधानिक परिषद् नै विघटन समेत गर्ने काम त पुरानै हो । नियमित रूपमा चलि रहेको संसद अधिवेशन अन्त्यको घोषणा गरेर प्रजातन्त्रको मन्दिर संसद नै भत्काइयो। न्यायको मन्दिर न्यायालयको आदेश पनि उलब्घन गर्ने तपाईंलाई अरू के भनौँ ।
कोरोनाकालमा थुप्रै नागरिक प्रताडित भए र भैरहेका छन् । राज्यकोषबाट वितरित राहतमा पनि अनियमित गर्न छोडेनन् तपाईं मातहतका मन्त्रीले त्यसको पनि मतियार । खुलामञ्चमा निमुखालाई खाना वितरण गरिदै आएको सेवा मुलक कार्यमा समेत रोक लगाएर सर्वहाराको नारा दिने तपाईंबाट भएका यस्ता अमानवीय कदम अनगिन्ति छन्।
सरकारी अड्डालाई असक्षम गिरोहको भर्तीकेन्द्रमा रूपान्तरण गरेर समृद्ध नेपाल सुखि नेपाली भन्ने नारा र भाषण मात्र दिँदै बालुवाटारले दिनु पर्ने काम, सेवा र जनभावना अनुरूपका विषय केन्द्रीत मुद्दालाई बेवास्ता गरि सधै बालुवाटारमा भोज भतेर, राजनितीक विवाद मिलाउने अखडा र पार्टीको बैठक कक्ष बनाइयो । धन्य हो तपाईं ।
यसरी अन्य काम कुराको मेलो नसरि रहेको बेला महामारी भएर कोभिड आयो । धेरै सास्ती व्यहोर्नु परिरहेछ नागरिकले । परिस्थिति जटिल बन्यो र अझ पनि त्यो जटिलता कायम छ । यो विषम परिस्थितिले समेत तपाईंलाई खासै छोएन । राज्यसँग नागरिकको अपेक्षा भनेको शान्ति सुरक्षा, अमन चैन, शिक्षा–स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको परिपूर्ति तथा सामाजिक सुरक्षाको प्रत्याभूति हो । नागरिकले संबिधानतः पाउने नैसर्गिक अधिकार पनि दिन नसक्ने राज्य र राज्यञ्ंचालक दुबै असक्षम मानिन्छन्।
स्थिति भयावह छ भनेर विज्ञहरूले भनेका कुरा तपाईंले सुन्नै चाहनु भएन । कार्यकर्ता भेला र विभिन्न प्रशिक्षणका नाममा भएको जमघटले पनि दोस्रो चरणको कोरोना कहरलाई थप मलजल पुग्यो भन्ने बुझाई छ मेरो। कतिले यो कोरोनाको महामारीमा अभिभावक गुमाए । कतिले आफन्त परिवार गुमाए भनि साध्य छैन । कहिले गृहबन्दि, कहिले निशेधाज्ञा जस्ता कारण व्यवसाय धरासायी भए र भैरहेछन् । करको मार, वेरोजगारी आदि अनगिन्ती मानसिक अन्तरद्वन्द्ध तनाव र पीडामा जनता हुँदा पनि तपाईंहरू सत्ता मोह र कुर्सीको खेलमा नै रमाई रहनु भयो । अक्सिजन, बिरामीलाई बेड, आइसियु, भेन्टिलेटर जस्ता न्यूनतम स्वास्थ्यका आधरभूत कुरामा जनता छटपटाइरहेछन्, तिनको अभावमा कैयौंले ज्यान गुमाए गुमाइरहेछन् तर तपाईंहरू सत्ता मोह र कुर्सी कै परिक्रमामा मग्न । धन्य कमरेड लाल सलाम तपाईंलाई ।
विद्वान् जे.एच.सल्टाउले राजनिती बारे यस्तो अभिव्यक्ति दिएका थिए– “दुर्भाग्यवश राजनीति जस्तो विषयमा हरेक मानिस आफूलाई माहिर सम्झन्छन्,चाहे उसले यसको क्रमबद्ध अध्ययन गरेको होस्या नगरेको होस्।”
वि.पी.कोइरालाले भनेका छन–“राजनीति नैतिकताको व्यापक रूप हो।”
यी र यस्ता भनाइसँग तपाई जानकार हुनुहुन्छ । जानकार हुनु र जानेका कुरा ब्यवहारमा उतार्नु फरक कुरा रहेछन्। राजनीतिकर्मीले नजानेका कुरा कमै हुन्छन् । जानेको जस्तो गर्नु स्वभावै हो। नजान्ने देखियो भने नेता कहलाइँदैन भन्ने भ्रम हुन्छ रे । त्यो तपाईंमा पनि लागू हुने कुरा हो । एकजना पूर्व प्रधानमन्त्रीले त “प्रसव वेदना र पीडा कस्तो हुन्छ बुझेको छु मैले” सम्म भनेर भाषण गर्नु भो । जान्नु, बुझ्नु, पढ्नु, अनुभूत गर्नु एक प्रकारको गुण हो । तर सबै कुरामा म निपुण छु भन्नू महाभ्रम हो । भनिन्छ भ्रमको उपचार बैद्यसंग पनि छैन । फेरि तपाईं आफैँ धामी वैद्य जस्तो मान्छे। मनमा एउटा भ्रम पाले पछि बाहिर निकाल्नै गार्हो। आफैं विज्ञ, वैज्ञानिक, दार्शनिक, भूगर्वविद्, खगोलवेत्ता अनेक बनेर विद्वता छाट्न सिपालु। कोरोना जस्तो नयाँ, जटिल, र भयानक महामारीको समेत तपाईं नै विज्ञ भएर निस्कनु भयो ।
ताजुब छ तपाईंहरूको भ्रमित इन्द्रजाल । कोरोना कहरको जहरमा पनि विज्ञका कुरालाई फुमन्तरको शैलीमा उडाएर सकिदिनेकला । स्थिति भयानक र जटिल छ । कसले लिने यसको दोष ? यसलाई इतिहासले भुल्ने छैन । कुनै पनि विषयगत विज्ञहरूको सुझाव तपाईंका लागि अभिशाप जस्तो हुन्छ ।
राम्रा कुराहरू तपाईंहरूलाई पच्दैनन् । एक कानले सुनेर अर्को कानले उडाउने राम्रो खुबी छ तपाईंसंग । विज्ञले दिएका सुझावलाई हावादारी कुरा ठानेर कोरोनाबाट उत्पन्न हुने सम्भावित जोखिमलाई समेत नजरअन्दाज गरि राज्यले गर्नु पर्ने कुनै तयारी गर्नु भएन, यो तपाईंको ठुलो कमजोरी हो ।
संसदमा कोभिड विरूद्ध राज्य पक्षको ठोस नीति बन्नु पर्दछ भनेर कतिपय सांसदहरूले आवाज उठाउदा न तपाईं संसदमा जानू भयो न राज्यका संयन्त्रलाई प्रभावकारी परिचालन गर्ने रणनीति अख्तियार गर्नु भयो । यस्तो विषम परिस्थितिमा उल्टै संसद भब्ग गरेर राजनीतिक रडाको मच्चाउने काम भयो । मैले जे गरे पनि,जे भने पनि ठिक छ भन्ने मनोगत हठ, अहंकार र उखाने गाली गलोज र टुक्कामा रमाइलो मान्दै देशवासीका नाममा बेतुकका सम्बोधन मात्र दर्जनौ पटक प्रसारण भयो । भाषणले केही भएन । झन अभिव्यक्ति गैर जिम्मेवार बन्न पुगे । त्यो दुश्परिणामको शिकार जनता हुन पुगे । यो समयमा तपाईंमात्र होईन तपाईका मन्त्री मण्डलामा रहेका अन्य मन्त्रीहरू पनि तपाईंले बजाएको डमरूको तालमा जता नचायो उतै नाच्ने जम्बुरे जस्तै भए ।
प्रधानमन्त्रीज्यु,
कोरोनाको प्रकोप जतिबेला विश्वका अन्य मुलुकमा फैलदै थियो त्यतिबेला हामी प्रायः सुरक्षित नै थियौँ । विश्वका शक्ति सम्पन्न राष्ट्रहरू पनि उचित र पूर्व तयारीको अवस्थामा थिएनन् । यद्यपी हामीसँग अन्तर्राष्ट्रिय समुदायबाट सिक्ने र तयारी गर्ने समय र अवस्थामा थियो । हामीले सामान्य तयारी र सम्भाव्य चुनौतीको पनि आँकलन गरेनौं र क्रमशः जटिल अवस्थामा आई पुग्यौं । जसमा तपाईं र तपाईंको मन्त्री मण्डल दोषको भागिदार ठहर्छ । हामीले गर्न सक्ने न्यूनतम पूर्वाधारको विकास, जनशक्तिको व्यवस्थापन, सजगता, सावधानी, स्वास्थ्य मापदण्ड आदि कुरामा केही नगरी केवल राजनीतिक मुद्दामा समय खेर गयो । त्यो महत्त्वपूर्ण समय खेर फाल्ने मूल पात्र तपाईं हो। पहिलो चरणको कोरोना कहरबाट हामीले थुप्रै पाठ सिक्नु जरूरी थियो, सिकेनौ । भ्रातृसंगठन र अनेक संघसंस्थाका भेलामा सिकाउनु पर्ने कुरा नसिकाई राजनीतिक कुरा मात्र फिल्मि शैलीमा सिकाउने प्रमुख नायक तपाइँ ।
जनता खोप व्यवस्थापनको कुरा उठाउँदै थिए तपाईं मूल कुरामा नभएर हात्ती उडाउने हुरिमा प्युरी खोज्दै हुनुहुन्थ्यो । धेरै कुराहरू गर्न सकिने तहमा हुँदाहुँदै पनि तपाईंको अहम, अहंकार र दम्भले आजको स्थिति भोग्न जनता बाध्य भए हामीले मानवीय क्षतिका साथै ठुलै आर्थिक क्षति समेत बेहोर्नु पर्यो । यो परिस्थितिसम्म आई पुग्दा पनि तपाईंमा चेतना नआउनु भनेको मुलुक कै दुर्भाग्य हो ।
तपाईं जस्तो दर्शनाचार्यलाई लाग्दो हो मानिस मर्नु सामान्य हो । समृद्धिको महान यात्रामा मृत्यु केही होइन । समृद्ध नेपालको महाअभियान र महामारी दुई भिन्न विरोधी कुरा हुन । जनताले चाहेको विकास हो, त्यो भएकै छ भनेर नभन्नु होला । जनताका लागि अपरिहार्य भनेको जीवन नै हो। जीवन छैन भने विकासको पनि अर्थ छैन । तपाईं भन्न सक्नुहुन्न आफ्नोप्रधानमन्त्रीत्व काल सफल छ भनेर । जन अपेक्षा अनुरूप देश र जनताका दिनु पर्ने सेवा, सुबिधा र भूमिका वहन भयो त ? तपाईंले गम्भीर भएर आफूले आफैँलाई प्रश्न गर्ने बेला हो यो ।
यी र यस्ता प्रश्न प्रधानमन्त्रीको कुर्सीमा बस्ने हरेकले गर्नु जरूरी छ । भन्नुस मैले गरिन, म सधैं पदाशीन रहन्न । तर कर्तव्यको धर्मले त्यसो भन्न दिँदैन । यो भनाइ मेरोमात्र व्यक्तिगत होइन्आम नागरिकको हो । पदमा बस्ने तपाईं र तपाईं जस्ताका गैर जिम्मेवार सोच र चिन्तनबाट नागरिकले दुःख नपाउन्भन्ने अभिप्रायले यो पत्र प्रेषित गरेको हूँ । यथोचित अध्ययन गरियोस्, मनन होस्, आउनेले पनि वर्तमानको जस्तो गल्ती नगरोस् भन्ने सदिच्छा छ । अन्यथा नलिइयोस्।
अन्त्यमा,
हेनरी एडमले भनेका छन्“आधुनिक राजनीति खासगरी मानिसहरूको होइन, शक्तिहरूको संघर्ष हो” । देशको कानुनले प्रधानमन्त्री संसदीय अभ्यास र परिपाटीबाट नै चुनिन्छ । केही अपवादमा बाहेक त्यो पदमा राजनीतिक दलबाट नै प्रतिनिधित्व गरेर जाने हो । प्रारम्भिक प्रक्रिया जस्तो भएता पनि प्रधानमन्त्री देशको हुनुपर्छ । दलगत स्वार्थबाट माथि उठेर देश, जनता, राष्ट्रियता स्वाधीनता, अखण्डता जस्ता मौलिक मान्यतालाई आत्मसात्गरेर पदीय दायित्व, जिम्मेवारी र कर्तव्य बहन गर्नु आम प्रधानमन्त्रीको उच्चतम कार्य हो ।
आफूले कति गरियो, कति चुकियो भन्ने कुराको लेखाजोखा इतिहासले गर्ने भएको हुँदा इतिहास सुनौलो पार्ने कि दाग लगाउने भन्ने कुराको लागि स्वयंले स्वयंलाई अनुगमन गर्नुहोला । पत्र तपाइँका लागि मात्र नभएर आउने शासकहरुका लागि पनि उदाहरणीय हुन सक्छ त्यसैले नच्यात्न अनुरोध गरेँ । आफ्नो कमीकमजोरीको मुल्याब्कन गरेर आउने दिनका लागि उचित सुझाव दिनुस कि तपाइँको सुझावले राष्ट्रघात गर्ने नियत भएका साशकहरूलाई पनि राष्ट्रप्रेम जागेर आओस् । आशा गर्न सकौँ तपाईंबाट हुन नसकेका कामहरू आउने प्र.म.ले निस्वार्थ निर्वाध र निश्पक्ष भएर गर्नेछन् । सबै भन्दा महत्वपूर्ण कुरा राष्ट्रघात गर्ने छैनन निजी स्वार्थबाट माथि उठेर राष्ट्रलाई सर्वोपरि मान्नेछन्।
प्रेषक
ऋषभदेव घिमिरे, ललितपुर, गोदावरी