११ असोज २०८०, बिहिबार

‘सपनामा सुध्रिएका ओली बा’

लेखाजोखा न्यूज

१२ जेष्ठ २०७८, बुधबार ९:२८

राष्ट्रपती विद्या देवी भण्डारी… जिन्दावाद ! केपी ओली… जिदावाद ! जनमुखि सरकार… जिन्दावाद ! ओली बा… ! वी लभ यू ! … भन्दै नारा लगाउँदै एक हुल मान्छे भर्खर गए मेरो घर अगाडीको सडक हुँदै । अनि एकैछिन पछि अर्को हूल, नारा…, हूलको बिचमा राष्ट्रपती विद्या भण्डारी, केपी ओली लगायतका गन्य मान्यजनहरु,… फेरी त्यो हुल सकिन नपाउँदै अर्को हूल, अर्को हूल…, गर्दा गर्दै सात हूल आएर गए नाराबाजी गर्दै गए ।

म अचम्ममा परें, म लगायत मेरो घरका अन्य सदस्यहरु पनि । मेरो श्रीमान त झन् अचम्म पर्दै, यो के भएको जनतालाई? हिजोसम्म ओली सरकारलाई गाली गरेर नथाक्ने जनता आज उनैलाई लिएर नारा लगाउँदै हिंडी रहेका छन् । जनता बौलाए कि क्या हो?… भन्दै बरबराइरहनु भयो ।

वास्तवमा भएको के रहेछ, भने नी ! ओली बा सुतेको बेलामा सपनामा जिसस आएर केपी ओलीको गलामा एक चड्कन कसेर दिएछन्, अत्तालिंदै केपी पशुपतीनाथ पुगेछन् । त्यहाँ पशुपतीनाथले मन्दिरमा चढाएको जलहरीको गुन तिर्न सम्झाएछन्ः केपी बाबु ! जिजसले तिमीलाई रीसले चड्काएका होइनन्, होली वाइन खाएर पनि जनताको सेवा नगर्ने, फोहोरी खेलमै भुलिएर बस्ने? भनेर रिमाइण्डमात्र गराएका हुन, जनताको सेवा गर, सब ठीक हुनेछ भनि सम्झाएका रहेछन् ।

बा, झल्याँस्स बिउझेर थचक्क बसेछन् । आफ्नो कर्मप्रती ग्लानी जागेछ । वास्तवमा बोनसमा पाएको जिन्दगीको अन्तिम् इपिसोडमा पनि लोकप्रीय काम गरीन भने् मरेपछि त मलाई सेक्युरीटि पनि पाइने छैन, विद्या पनि त्यहाँ हुँदिनन्, मेरो चाटुकार मन्त्रीमण्डल पनि त्यहाँ हुँदैनन्, अहिले त भएका मध्येका ७ को त डाँडो काटिसक्यो । मलाइ त चिमोटी चिमोटी मार्छन् होला भन्ने चेतना आएर गर्जेछन् । ए, सूर्य थापा जी ! यता आउनुस् । सबै मन्त्री, सचिवहरु, प्रहरी र आर्मी प्रमुखहरुलाई एक घण्टाभित्र डाक्नुस्, तुरुन्त ।

सूर्य थापा जी अत्तालिंदै ट्विट गर्छन् पहिला, त्यसपछि सबै तिर फोन घुमाउँछन् । ट्विट गर्दा केपी बा को नक्कली आइडीबाट गर्न पुग्छन् । गालीका फर्रा छुटेपछि आखा मिच्दै विज्ञप्ती निकाल्छन् र पुनः ह्याक भएको जानकारी गारउन थाल्छन् । त्यस लगत्तै बोलाएका सबै बालुवाटारमा जम्मा भएछन् र बीचमा उभिएर सबै तिर घुम्दै बा ले सबैलाइ कडा आदेश दिएछन् कि एक महिनाभित्रसम्म सबै जनता स्वस्फूर्त सडकमा आएर सरकारको जयजयकार गर्ने गरी नारा लागोस् ।

ज–जसको कारणले देश हीतको काम भएन वा कमजोरी र ढीला सुस्ती भयो त्यसलाई बर्खास्त होइन सीधै झुण्ड्याइने छ ।

भीम रावल बोलेछन् सम्माननीयज्यू, संविधानमा नभएको नसीहत दिने? ओली बा ले भनेछन् , अब तपाईका कुर्लने दिन गए । अध्यादेशले काम गर्छु, विद्यादेवीले सहयोग गर्छिन् । सबै जुरुक्क उठेर फटाफट काममा दगुरे । कसैले चप्पल लगाउनै बिर्सेछन्, कसैले पाइन्ट भिर्नै बिर्सेछन् ।

भोलीपल्ट बिहानै मन्त्रीमण्डलको बैठक बसेछ । जनमुखी कामको पोथ्रो तयार पारेछन् । सर्वप्रथम् त कोरोना जितौं अभियानमा लागेछन् । सबै पार्टीका सभापती, आफ्ना असन्तुष्ट नेताहरु सबैलाई डाकेर मलाई एक महिनामात्र सहयोग गरीदिनुस् त्यस पछि म राजिनामा मात्र होइन मृगौला पनि फिर्ता गरी दिन्छु । सबैले आफ्नो पालो आउने कल्पना गर्दै साँच्चिकै ओली बा कै अभियानमा साथ दिन लागेछन् ।

आ-आफ्ना मन्त्रीहरुले घुस खाएर लुकाएको पैसा झिकेर चाइना, रुस, बेलायत, युरोपबाट ७७ वटै जिल्ला अस्पतालहरुमा पुग्ने गरी २०० वटा अक्सिजन प्लान्ट, १० हजार थान अक्सिजन सिलिण्डर, दश लाख थान पि.पि.ई., प्रत्येक अस्पतालमा २०० थान भेन्टिलेटर, पर्याप्त रेम्डेसिभिर लगायतका औषधी एक हप्ताभित्र ल्याइ पुर्याउने गरी काम थाली हालेछन् । सुरजले खुसुक्क ओली बा को कानमा फुस्फुसाए, ए हजूर कमीसन? पार्टिलाई र मलाई फिफ्टी फिफ्टी नगर्ने? ओली जंगिएनन् , आफ्नो बडीगार्डको पेस्तोल झिकेर ड्याम्म पारीहाले सूरजलाई । उनलाई तुरुन्त हस्पिटल तिर लगियो । अब त सबैका मनमा साक्षात यमराज आएको महशूस भयो ।

सातै दिनमा चाइनाको भन्दा फास्ट काम हुन थालेछ । ज्ञानेन्द्र शाही, सुरेन्द्र के.सी., रबी लामीछाने लगायतमा देशै भरीका अभियन्ताहरुलाई भिडियो कन्फ्रेन्स गरी केपी बाले अनुरोध गरेः तपाईहरुले देश बचाइदिनु पर्यो, मलाई सहयोग गरीदिनु पर्यो प्लिज । सरकारसँग भएका जे जे साधन छन् सबै तपाईहरु प्रयोग गर्नुस्, हेलिकोप्टर लैजानुस्, ढुकुटी लैजानुस्, कुन पद चाहिन्छ त्यो सबै म दिन्छु तर मेरा प्रिय जनतालाई बचाइदिनुस् प्लिज भन्दै भावुक बने । सबै सामाजिक अभियन्ताहरु अवाक भए । अनि लागे युद्धस्तरमा जनतालाई बचाउन ।

न कसैलाई भोक, न थकाई रात दिन ओलीबालाई साथ दिन थाले । अब त साराका सारा घुसखोरहरु छिनभरमै बडा इमान्दार बनिसकेका थिए ।

मौसममा पुरै बदलाव आइसकेको थियो । त्यही बीचमा रअ प्रमुख गोयल आएर ओलीबालाई यसो नगर्न दबाब दिन थाले । अर्को वर्ष कोरोना औषधीको नेपालमा ब्यापार गर्ने सोच बनाएका इण्डियन ब्यापारीहरुलाई नेपालले विदेशबाट राहत ल्याएर घाटा हुने भयो नी । मोदीजी रिसाउँछन् नी भन्न नपाउँदै ओली बाले आइजिपीलाई इगिंत गर्दै ‘यस्लाई समातेर मुखमा टेप लगाएर ५ महिना कालकोठरीमा थुन्नुस् त !’ भन्दै कड्किए । तुरुन्तै आज्ञा पालन पनि भएछ ।

कोरोनासंगको लडाईमा अनुगमन गर्न ओली बा आफै लागेका रहेछन् । जनताको चित्कार बेवास्ता गर्ने, घुस खाने, कालोबजारी गर्ने ब्यापारीहरुलाई ठाउँको ठाउँ अपराध हेरी सामान जफत गर्ने, जेल हाल्ने, लाइसेन्स खारेज गर्ने र एकाधलाई गोली ठोक्ने पनि काम भएछ । विद्याजी पनि गाउँ गाउँमा गएर ककस्को घरमा चुलो बलेको छैन, खाना छैन खोजी खोजी राहत बाँड्ने काममा लागिछन् ।

आराम हराम हो भन्दै चौबिस घण्टा खटेको देखेर कोरोनामात्र होइन त्यो भन्दा खतरनाक आन्तरीक कोरोना पनि तीनहप्तामै ठण्डा परीसकेको थियो । सबै जनतालाई ओली बा ले अन्तमा आग्रह गरेछन् ‘हाम्रो गरीबिको र यो अविकासको कारण भनेको खुल्ला सीमाना हो । यसैले नेपालले आफ्नै खर्चमा भारतसंगको सीमानामा बलीयो तारवार लगाउनु पर्ने आवस्यक भयो । अब जागीर खान भारत नपसौं र कारोनाजस्ता रोग पनि नभित्र्याऔं । तर राज्य कोषमा पैसा सकीयो के गर्ने होला ? सबै नेपालीहरु स्वदेश फर्किनुस् , सबैलाई यतै रोजगारी दिइन्छ’ मात्रै के भनेका थिए एनआरएन ले मात्रै पुरै तारवार हाल्ने दोब्बर खर्च प्रधानमन्त्री कोषमा दाखिला गरिसकेछन् ।

यतिका लाई के जागीर दिन सकिन्छ र भनि जिज्ञाशा राख्दा सबैलाई आर्मी र शसस्त्र प्रहरी बनाई सीमासुरक्षमा लगाउने, सडक खन्न लगाउने, विकास काममा लगाउने पो भन्नुहुन्छ ओली बा त भनेर भन्दै थिइन् मेरी साथी । मेरो श्वास छिटो छिटो चलिरहेको थियो, मुटुको ढुकढुकी बढीरहेको थियो, म कुन ग्रहमा छु भन्ने लागिरहेको थियो । पुनः ओली बा ! जिन्दाबाद भन्दै आएको जुलुसको आवाजले म झस्किएछु र झल्याँस्स ब्युझेछु । रेडियोमा समाचार बजिरहेको थियो, – ‘राष्ट्रपती द्वारा संसद विघटन्… ।’


© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend