२२ मंसिर २०८०, शुक्रबार

राष्ट्रपतिले दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन आममाफी दिए : रवि लामिछाने

लेखाजोखा न्यूज

११ असोज २०८०, बिहिबार १:४१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने बताएका छन्।

काभ्रेकाे बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्यामा दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिएकाेप्रति प्रश्न उठाए।

उनले भने, ‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र भनेर अर्को अपराधीको लाइन छ उहाँ । राजनीतिक दल नै पिच्छे लाइन छ । पख्नुस् न संविधान र गणतन्त्र दिवस आउँछ नि भनेर । हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको मान्छेहरुको लिष्ट ठूला पार्टीका नेताहरूले खल्तीमा हालेर बसेका छन् । त्यही सरकारमा लिएर जान्छन् र राष्ट्रपतिकहाँ चढाउँछन् त्यसैले तपाईंहरूले जति विरोध गर्नुस् ।’

उनले आफूहरूले कुनै दलको नभइ १० वर्ष कुनै राजनीतिक दलमा नलागेको व्यक्तिलाई राष्ट्रपति बनाउने परिकल्पना गरेको बताए ।

उनले भने, ‘हामीले परिकल्पना गरेका जस्ता व्यक्ति राष्ट्रपति भए भने दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गर्दैनन् ।’

रास्वपाले भ्रष्टाचारलगायत  आपाराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको र अब एकैपटक २०८४ मा मात्रै बोल्ने नेता लामिछानेले बताए।

रविले थपे, ‘हामीले हरेक काण्डमा बोलेका छौं। तर, हामीलाई जनताले बोलेर मात्रै के हुन्छ र भन्लान् ? त्यसैले अब हामीले एकैचोटी त्यसको जवाफ ०८४ मा दिन्छौं ।’

साथै, लामिछानेले फरक प्रसङ्गमा बेथितिमा थिति बसाल्ने पार्टीलाई जनताले मन पराउनेमा जोड दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend