२२ मंसिर २०८०, शुक्रबार

धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष

लेखाजोखा न्यूज

११ असोज २०८०, बिहिबार १:२६

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सबै जना सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे माओवादी केन्द्रका पदाधिकारीहरुको बैठकले विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने निष्कर्षसमेत निकालेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा रहेका बेला बिहीबार पदाधिकारीहरुको बैठक बसेको थियो । बैठकले देशका विभिन्न स्थानमा धार्मिक एवम् साम्प्रदायिक सदभाव खलबलिन खोजेको निष्कर्ष निकालेको छ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशमा अराजकताको संकेतहरु देखापरेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सामाजिक सद्भाव कायम राख्न सबै पार्टी पंक्ति गम्भिरतापूर्वक लाग्नुपर्यो । बाहिर पनि छलफल चलाउनु प¥यो । नेतृत्व लिनुपर्यो,’ सापकोटाले भने, ‘सामाजिक संघ, संस्थासँग अन्तरक्रिया गर्ने पनि भनिएको छ ।’

उनले अगाडि भने, ‘नेपालीहरुमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका संकेतहरु देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भिरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend