सर्लाही। प्रहरीले सर्लाहीमा जलाउन लागिएको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका १ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको हो ।
मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
महिलाको शंकास्पद मृत्युको सूचना पाए लगतै नजिकको मनुष्मारा खोलामा जलाउन ठिक्क परेको अवस्थामा शव नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार महिलाको घाँटीमा निलडाम देखिएको छ ।
घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।
पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ ।
सर्लाहीकै कविलासी गाउँपालिका-३ घर माइत भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो ।