कतार। गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कतारबाट राजेन्द्रकुमार शर्माले (आरके) ले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
मध्यपुर्वका एनआरएनएका प्रतिनिधिहरुबीच शर्माले बुधबार कतारबाट औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरे ।
संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा फुटेको होइन, जुटेको एनआरएन बन्ने उनले दाबी गरे ।
बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, “मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइ सकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।”
“अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ,” उनले थप जोड दिंदै भने, “मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।” आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनले बाचा समेत गरे ।
शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । अब गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भईसकेको उनले जिकिर गरे ।
यी हुन् आरके शर्माका २४ बाचा र नारा:
शर्माले बाचापत्रमा एनआरएनहरूबीच एकता गराउने आफ्नो पहिलो बाचा रहेको बताएका छन् । आकर्षक नारासहितको कार्यक्रम बाचापत्रमा समेटेका छन् ।
– वैदेशिक रोजगार, दक्ष जनशक्ति तथा सुरक्षित वातावरण ।
– हाम्रो नीति, सुधारौं श्रमिकको आर्थिक स्थिति । रेमिट्यानसको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ ।
– एनआरएनएको निरन्तर खटन, गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन ।
– सांगठनिक पुनर्संरचना, पहिला कार्यदलबाट गहन योजना ।
– मानव संशाधन, सबलीकरणयुक्त कार्यसम्पादन ।
– संस्थागत सुशासन, शून्य सहनशील स्वअनुशासन ।
– एनआरएनए निर्वाचन, सबैले गर्न पाऊन् मतदान ।
– आर्थिक कुटनीति, लगानी प्रवर्धन मुख्य नीति ।
– गरौं उच्चतम् प्रयोग सूचना प्रविधी, हुन्छ विकास र समृद्धि ।
– नेपाली रोजौं, नेपाली खोजौं,
– निर्यात बढाउन जोडतोडले लागौं।
– गैरआवासीय सरोकार, जहाँ भए पनि नागरिकता र मताधिकार।
– नेपाल समृद्धिको दस्ता, गैरआवासीय दोस्रो पुस्ता।
– अबको समृद्धि, जगेर्ना गरौं भाषा र संस्कृति। एनआरएनए शक्ति, अधिकारसम्पन्न एनसीसी।
– विदेशमा सिकेको ज्ञान, देश निर्माणको अभियान।
– देश विकासको बल, एक एनसीसी, हजार पर्यटक।
– घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार, अग्रजलाई सम्मान।
– युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन।
– नेपाली श्रम, अबको उद्यम।
– समावेशी अभियान, महिला सदस्यलाई प्रोत्साहन।
– चुस्त व्यवस्थापन मुख्य सरोकार, बनाऔं प्रभावकारी सञ्चार र योजनाबद्ध कार्यान्वयन।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन्। उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरेका छन् । हाल उनी संघको आइसिसी उपाध्यक्ष हुन्।
बाग्लुङ जिल्लामा २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए। कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा अकान्टेन्टको रुपमा जागिर सुरु गरे । हाल उनी कतारमा एक सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन्।