काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेशको अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ।
जारी कार्यतालिका अनुसार बिहानदेखि मतदान सुरु हुने छ ।
एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन। अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेको उम्मेदवारी परेको छ ।
अध्यक्षमा पाँच आकांक्षी देखिए पनि अन्तिममा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबिच प्रतिस्पर्धा हुने देखिएको। आकांक्षीहरूले एकले अर्कालाई छोड्न तयार नभएकाले निर्वाचनमार्फत नै नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको हो ।
सोमबार भृकुटीमण्डपमा अविधेशनको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर प्रतिस्पर्धामा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएर सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि दबाबसहितको आग्रह गरेका थिए । लुम्बिनी प्रदेशमा आफ्नो इच्छाविपरीत नेतृत्व चयन भएपछि बागमतीमा पनि प्रतिस्पर्धा हुने बुझेका ओलीले ‘प्रतिस्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुनेछ भन्ने अभिव्यक्ति दिएका हुन् । प्रदेश अधिवेशनको उद्घाटन सभागृहमा भएकामा बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा भएको थियो । मतदान पार्टी कार्यालय च्यासलमा हुने बताइएको छ ।
अधिवेशनको तेस्रो दिनसम्म आइपुग्दा अध्यक्षका आकांक्षी धेरै भए पनि मुख्य प्रतिस्पर्धा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच नै हुने देखिएको छ। यी दुईमध्ये अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मत गर्न संकेत दिएको नेताहरूको दाबी छ ।
ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा रहेका छन् । ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् ।
त्यसैगरी, दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । दाहालका प्रस्तावक लामा मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका अध्यक्ष तथा पार्टी जिल्ला उपसचिव हुन् ।
ओलीको संकेतअनुसार प्रदेश इन्चार्ज गुरु बरालले नेताहरूसँग छलफल अझै जारी राखेका छन् ।
उपाध्यक्षका लागि दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उमेदवारी परेको छ ।
सचिवमा रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।
उपसचिवका लागि १२ जनाको उमेदवारी परेको छ । खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उमेदवारी दिएका छन् ।
अध्यक्षका लागि पाचसहित उपाध्यक्ष, सचिव र उपसचिवका लागि पाँच पदमा २६ जनाको उमेदवारी परेको छ।
अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरी ५ जनाको पदाधिकारी र २४० जनाको कार्यसमिति चयन गर्नेछ ।