काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीका छाेराले मादक पदार्थ सेवन गरेर चलाएकाे सरकारी गाडि दुर्घटनामा परेपनि घटना गुपचुप मिलापत्र गरेकाे पाइएकाे छ।
शनिवार मन्त्री पुत्र राहुल रायले चलाएको बि.एबी. ७३८५ नम्बरको स्कोर्पियोले कारले दक्षिणकाली नगरपालिका–२ मा मोटरसाइकललाई ठक्कर दिएको थियो।
उनले चलाएको स्कोर्पियोको ठक्करबाट चार जना सामान्य घाइते भएको प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार स्कारपियोमा राज्यमन्त्री कुमारीका छोरा राहुल रोय र उनका पिए विजय यादव सवार थिए ।
सरकारी स्कोर्पियो लिएर दक्षिणकालीबाट बिहान ४ बजे बल्खुतर्फ आउँदै गरेका रायले मन्त्रालयबाट जारी ‘हल्का सवारी चालक’को परिचयपत्र देखाएका छन्।
मन्त्री पुत्र रायले मादक पदार्थ सेवन गरेका थिए । तर, उनलाई मापसे गरेको कसुरमा कुनै कारबाही भएन।
प्रहरी प्रभाग फर्पिङले १ रात उनको गाडी होल्ड गरेको थियो । ठक्करबाट स्कारपियोको अगाडिको भाग क्षति भएको छ । त्यस्तै, मोटरसाइकल र कारमा पनि क्षति पुगेको छ । दुर्घटनालगत्तै प्रहरीले रोय र यादवलाई पक्राउ गरेको थियो । तर, मन्त्री कुमारीको दबाबपछि दुवैलाई प्रहरीले आइतबार बिहान छाडेको पाइएकाे छ।
प्रहरी वृत्त कीर्तिपुरका प्रमुख डिएसपी राजु लामाले घटना मिलापत्रमा टुंगिएको बताए । उनले भने, ‘दुर्घटना भएको हो । दुईजना पक्राउ परेका थिए । पीडितसँग मिलापत्रपछि पीडितकै आग्रहमा उनीहरूलाई छाडिएको हो ।’
पक्राउ परेकाहरूलाई छाड्न माथिको चर्को दबाब थियो । त्यसैले प्रहरीले पीडितसँग कुराकानी गरेको थियो । उनीहरू पनि मिलापत्रमा जान तयार भए र कागजात गरेर उनीहरूलाई छाडिएको हो ।