२२ मंसिर २०८०, शुक्रबार

बालनेले त्यसै सिंहदरवारमा आगो लगाउँछु भनेको होइन रहेछ : कांग्रेस सांसद बजगाई

लेखाजोखा न्यूज

८ असोज २०८०, सोमबार ८:२८

काठमाडौं । आफ्नो निर्वाचन क्षेत्रका नागरिक भीरबाट लडेर गम्भीर घाइते हुँदा तत्काल हेलिकोप्टर लगेर उद्धार गर्ने अनुमतिसमेत नपाएपछि सत्तारुढ नेपाली कांग्रेसका सांसदले सिंहदरवारमा आगो लगाउने बालेन शाहको अभिव्यक्ति स्मरण गरेका छन् ।

वृद्धभत्ता लिन जाँदा भीरबाट लडेर घाइते भएका गोरखाको चुमनुब्री- २ का एक वृद्धलाई हेलिकोप्टरबाट उद्धार गर्ने आफ्नो प्रयास विफल भएपछि गोरखा १ का सांसद राजेन्द्र बजगाईंले निराशा व्यक्त गर्दै देशमा अर्को क्रान्ति आवश्यक रहेको बताए ।

गम्भीर घाइतेको ज्यान बचाउन आफैंले पैसा तिरेर हेलिकोप्टर चार्टर गर्न खोज्दा पनि गृह मन्त्रालयले निषेधित क्षेत्रको बहानाबाजी गरेर अनुमति नदिएपछि सांसद बजगाईंले ट्वीट गर्दै भने, ‘मेयर बालेनले त्यसै आगो लाइदिन्छु भनेको हैन रहेछ ।’

बजगाईंले लगातार ती वृद्धको जीवन बचाउन प्रयास गरे । स्यो गाउँका ८० वर्षीय छेवाङ दोर्जीलाई हेलिकोप्टरबाट उद्धार गरेको पैसा आफैंले तिर्छु भन्दा पनि सांसदले अनुमति पाएनन् ।

त्यसपछि उनले फेरि लेखे- देशले भयानकको क्रान्ति पर्खिबसेको छ । करिब ३ घण्टा प्रयास गर्दा पनि घाइतेको उद्धार गर्न सकिन । २ः२७ बजे गोरखा सीडीओमा सम्पर्क गरेको थिएँ । निरन्तर गृह, निजी कम्पनी हेलिकप्टर कम्पनी उडाउने प्रयास गरें । सेनालाई नै ४ः३० बजेमात्र पत्र लेख्ने गृह मन्त्रालयको कारणले उद्धार भएन । डिफेन्स मिलिटरी अपरेशन बिहान जान्छ, उद्धार भन्छ । तथाकथित निषेधित क्षेत्र मुर्दावाद !
बिरामीको प्रार्थना गरिबसेको छु ।

गोरखाकै प्रधानमन्त्री र गृहमन्त्री हुँदा पनि सत्तारुढ सांसदले घाइतेको उद्धार गर्न नपाएपछि निराश भएर बालेन सम्झिएका हुन् । गोरखाको उत्तरी क्षेत्रलाई निषेधित क्षेत्र भनेर हेलिकोप्टर उडानमा समेत कडाइ गरिएको छ ।

पर्यटन व्यवसायीसमेत रहेका सांसद बजगाईंले निरन्तर यसको विरोध गर्दै आएका छन् ।

बजगाईंले भने, ‘जनता मार्ने निषेधित क्षेत्र कसका लागि हो ? जनताका लागि हो कि, सरकारका लागि हो कि, चाइनाका लागि ? सरकारले न गाउँमा यातायात सेवा पुर्‍याउन सक्छ, निषेधित क्षेत्र भनेको छ, न लाखौं खर्च गरेर घाइतेको उद्धार गर्न पाइन्छ, न सुत्केरीको न त बिरामीले समयमै उपचार पाउँछन् । नेपाली जनतालाई अकालमा मार्ने निषेधित क्षेत्र चाहिँदैन भनेर सबका सब जनताले विरोध गरिरहेका छन् । फेरि कसका लागि चाहियो यो निषेधित क्षेत्र ?’

छेवा दोर्जे लामा सोमबार बिहान ११ बजे वडा कार्यालयमा वृद्धभत्ता बुझ्न जाँदा भीरबाट लडेर घाइते भएका थिए । करिब एकसय मिटर तल खसेका वृद्धको टाउको र मुख फुटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend