नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यक्ति हत्या प्रकरणमा दोषी ठहर भई सर्वस्वसहित जेल जीवन भोगिरहेका व्यक्तिलाई आममाफि दिने सरकारको निर्णयले राष्ट्रपति संस्थालाई आलोचित बनाएको बताएका छन्।
सोमबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै शर्माले सरकारले सिफारिस गरेको आममाफी सूचीका कुरा उठाउँदै त्यसले राष्ट्रपति संस्थाकै आलोचना भएको बताए।
बाँकेका योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसमा आममाफी दिएका थिए।
चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका ‘रिगल’ भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो।
ढकालको नाम नलिई शर्माले सरकारको आममाफी निर्णयले राष्ट्रपति संस्था आलोचित भएको केन्द्रीय समितिमा बताए।
‘सरकारको कार्यवाहक प्रधानमन्त्री यहाँ हुनुहुन्छ। कानुन मन्त्री हुनुहुन्छ। अरू मन्त्रीजीहरू पनि हुनुहुन्छ।
म के ध्यानाकर्षण गराउन चाहन्छु भने पुराना व्यवस्थाको प्रतिनिधि जाँदै गर्दा निकै हल्लाखल्ला माहौल बनाउन खोजेको प्रयत्न एकातिर र अर्कोतर्फ राष्ट्रपति संस्थालाई आलोचना गर्ने खालका हाम्रा गतिविधि देखिए,’ उनले भने, ‘राष्ट्रपति संस्थालाई आलोचनामा आउने कर्म सरकारको पछिल्लो एउटा निर्णयले भएको छ- आममाफीको सूची। यसमा सही नै भएको छ भन्ने देखिँदैन।’
ढकाल तरूण दलका नेतासमेत हुन्।