काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभइ बीपीको विचारबाट फालिएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले २०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताए । उनले बीपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहेको बताए । उनले संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजतन्त्र राख्ने पक्षमा बिपी भएको बताए । उनले राजतन्त्र फालेर पनि अहिलेसम्म राम्रो गर्यौं भन्ने ठाउँ नरहेको बताए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं एमाले नेता अग्नि खरेलले संविधान संशोधनको मामिलालाई धेरै नकारात्मक रुपमा लिँदा २०४७ सालको संविधानको हालत जस्तै हुने बताए । उनले २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐनले अहिलेको संघीयताको भन्दा बढी स्थानीय तहमा अधिकार दिएको बताए । उनले तर संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानमाथि नै प्रश्न उठेर परिवर्तन गर्नुपरेको बताए । उनले संविधान संशोधन जरुरी रहेको र संघीयतालाई अझै पनि परीक्षण गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा माओवादी नेता एवं पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अहिलेको संविधान टिकाउनुपर्ने बताए । उनले अहिलेको संविधानलाई आवश्यक स्थानमा परिमार्जन र संशोधन गर्नुपर्ने बताए । उनले संशोधन र परिमार्जनका लागि कुनै आयोग गठन हुनुपर्ने बताए । निर्वाचन प्रणाली संशोधन हुनुपर्नेमा आफू सहमत रहेपनि गणतन्त्र, धर्म निरपेक्ष, संघीयता र अन्य फण्डामेण्टल कुरा कुरामा संशोधन गर्न नसकिने बताए ।
उनले माओवादीले त्यसै जनयुद्ध गर्यो भन्ने कुरा उठेको भन्दै माओवादीसँग सम्झौता भएको माया गरेर नभएको बताए । उनले त्यसबेलामा रहेका सात दलले पनि माओवादीलाई जित्न नसक्दा र राजाले पनि जित्न नसकेको र माओवादीले पनि राजालाई जित्न नसक्दा सम्झौता भएको बताए ।