२२ मंसिर २०८०, शुक्रबार

बजारमा ६ खर्ब ४० अर्बका नोट चलनचल्तीमा

लेखाजोखा न्यूज

५ असोज २०८०, शुक्रबार ८:१०

काठमाडाैं। डिजिटल कारोबारले नोटको प्रयोगलाई विस्थापित गर्दै लगे पनि चलनचल्तीको नोटको प्रयोगमा भने कमी आएको छैन ।

आर्थिक वर्ष ०७८/७९ मा ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँका नोट चलनचल्तीमा रहेकोमा ०७९/८० मा सात अर्ब ६१ करोडले वृद्धि भएर ६ खर्ब ४० अर्ब आठ करोड रुपैयाँबराबरका नोट चलनचल्तीमा छन् । नेपाल राष्ट्र बैंकका अनुसार बजारमा चलनचल्तीमा रहेका नोट कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ११.८३ प्रतिशत हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०७९/८० मा कुल गार्हस्थ्य उत्पादनको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको छ । डिजिटल कारोबारले विस्थापित गर्दै जाँदा नोटको चलनचल्तीमा सामान्य वृद्धि भइरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनले भने, ‘चलनचल्तीको नोटको विस्तारलाई सामान्य नै मान्नुपर्छ । किनभने आर्थिक वृद्धिदरको तुलनामा नोटको चलनचल्तीमा आएको विस्तार सामान्य नै छ ।’

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले नोटको कारोबार बढ्नुका पछाडि विभिन्न कारण रहने बताए । उनका अनुसार पैसा राख्नका लागि बैंकहरूमाथि सर्वसाधारणको विश्वास नहुँदा पनि व्यक्तिले होल्ड गरेर राख्ने सम्भावना हुन्छ, जसले नोटको चलनचल्तीलाई विस्तार गर्न सक्छ । उनले भने, ‘डिजिटल कारोबार बढ्दैमा नोटको कारोबार घटिहाल्छ भन्ने हुँदैन । नोटको कारोबार वृद्धि हुनुमा कारणहरू हुन सक्छन् । मुख्यतः बैंकमा पैसा राख्ने विश्वास सर्वसाधारणमा नहुँदा पनि व्यक्तिले पैसा होल्ड गर्न सक्ने अवस्था रहँदा नोटको कारोबार बढ्ने हुन्छ ।’

भ्रष्टाचार तथा गैरकानुनी कारोबारले पनि नोटको चलनचल्ती बढाउन सक्ने उनको भनाइ छ । उनले भने, ‘गैरकानुनी कारोबार गर्नका लागि नोटकै प्रयोग हुने भयो ।’

केन्द्रीय बैंकका अनुसार पछिल्लो समयमा विद्युतीय भुक्तानी प्रणालीमा पहुँच र प्रयोगमा विस्तार भइरहेको छ । कुल विद्युतीय कारोबारमा सबैभन्दा बढी मोबाइल बैंकिङ बैंकले ३८.१७ प्रतिशत हिस्सा ओगटेको छ । अत्यधिक कारोबार हुने मोबाइल बैंकिङका प्रयोगकर्ता गत असार मसान्तसम्ममा दुई करोड १३ लाख ६३ हजार नौ सय ८९ पुगिसकेका छन् । अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा ०७९/८० मा यसका प्रयोगकर्ता ३० लाख ५६ हजार सात सय ३४ ले थपिएका हुन् । नेपालमा दसैँ–तिहारमा नयाँ नोट साट्ने परम्परा कायमै रहेकाले पनि नोटको कारोबार घट्दै जाने सम्भावना न्यून देखिन्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend