११ असोज २०८०, बिहिबार

दलहरुबीच असाधारण सहमति भएकै कारण संविधान जारी गर्न सकिएन : झलनाथ खनाल

लेखाजोखा न्यूज

२ असोज २०८०, मंगलबार ३:०३

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले २०७२ को संविधान निर्माणमा राजनीतिक दलहरुबीच असाधारण सहमति भएकै कारण संविधान जारी गर्न सकिएको बताएका छन् ।

मंगलबार नेकपा एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

‘नेपालको इतिहासमा यो संविधान निर्माण गर्ने सवालमा राजनीतिक दलहरुबीच असाधारण सहमति भएकैले संविधान जारी गर्न सफल भयौ’, खनालको भनाइ छ । त्यसक्रममा संविधान सभा अध्यक्षको हैसियतले सुवासचन्द्र नेम्वाङले खेलेको भूमिकाको उच्च मुल्यांकन गर्नुपर्ने खनालले बताए । उनले संविधान बनाउन दलहरु जति सचेत भएपनि त्यसको कार्यान्वयनको पक्षमा दलहरु सचेत हुन नसकेको बताए ।

‘संविधानका धाराबारे हामीले देशभरिका जनतालाई बुझाउन सकेका छैनौ । त्यसको प्रभाव पूर्वाञ्चलमा देखिएको छ’, खनालले ३१ वटा मौलिक हकलाई तीन वर्षभित्र कानुन बनाएर लागू गर्नुपर्नेमा सात वर्ष बित्दा समेत नसकिएको भन्दै यो नेतृत्वको पहल कदमीमा अभाव रहेको बताए । उनले संविधानको सही कार्यान्वयन गरिएमात्रै देशका समस्या समाधान गर्न सकिने भन्दै विदेश नीतिमा सात कुरा भएपनि त्यसमा समेत ध्यान दिन नसकिएको बताए ।

‘त्यसैले संविधान बमोजिमका नीति, कार्यक्रम दिशा र आचरण अनुसरण गर्न नसक्दा देशमा संकटहरु मडारिएका छन्’, खनालले भने, ‘राजनीति दिशाहिन छ । कता गइरहेका छौ थाहा छैन । यो देशका नेताले पनि भन्न सक्दैनन् हामी कता गएका छौ भनेर ।’ उनले राजनीतिक आर्थिक संकट बढ्दै गएको भन्दै देशको खर्च धान्न नै नसक्ने अवस्थामा रहेका बेला थप सांस्कृतिक संकट समेत बढिरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend