काठमाडौं। नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्ता वहिष्कार गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षक महासंघलाई सोमबार आह्वान गरेको थियो।
तर महासंघले यसअघि पनि सरकारसँग पटकपटक वार्ता भएपनि विधेयक ल्याउँदा बेवास्ता गरिएकोले वार्ताको औचित्य नभएको प्रतिक्रिया दिएको छ।
‘हामी वार्तामा जाँदैनौं,’ नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने, ‘आन्दोलनका लागि हामी बैठक बसेर आन्तरिक तयारी गर्दैछौं।’
सोमवार शिक्षा मन्त्रालयका सहसचिव भगवान अर्यालले विज्ञप्ति निकालेर नेपाल शिक्षक महासंघले उठाएका कतिपय मागहरू विधेयक पारित भएपछि तर्जुमा हुने नियमावली र सरकारको नीतिगत निर्णयबाट सम्बोधन हुने प्रकृतिका रहेको उल्लेख गरेका थिए।
विज्ञप्तिमा मंगलबार अपराह्न ३ बजे शिक्षा मन्त्रालयमा हुने वार्तामा सहभागी हुन महासंघलाई आग्रह गरिएको छ।
संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै बुधबारदेखि महासंघले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ।
देशैभरका विद्यालय बन्द गरेर असोज ३ गतेदेखि शिक्षकहरू आन्दोलनमा उत्रने भएका हुन्।