काठमाडौं। आज गणेश चतुर्थी (चौथी) र ऋषिपञ्चमी एकैदिन मनाइँदैछ।
तिथिको घटबढका कारण गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व पनि मंलबार नै परेको पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए।
‘सूर्योदय कालमा चतुर्थी तिथि र मध्याह्नकालमा पञ्चमी तिथि परेकाले यो वर्ष दुवै पर्व एकै दिन मनाउनुपर्ने भएको हो’, उनले भने।
समितिद्वारा स्वीकृतिप्राप्त पञ्चांगमा १२ घडी २५ पला अर्थात् बिहान १० बजेर ४९ सम्म चतुर्थी तिथि रहने र त्यसपछि मात्र पञ्चमी तिथि लाग्ने पञ्चांगमा उल्लेख छ।
भाद्र शुक्ल चतुर्थीलाई भगवान् गणेशको जन्मदिन मानिएको छ। यो अवसरमा भगवान् गणेशको पूजा–आराधना, रथयात्रा आदि गर्ने परम्परा छ। यो पर्वलाई नेवार समुदायमा ‘चथा’का नामले मनाइन्छ।
मंगलबार चतुर्थी तिथि परेको दिनलाई मंगल चौथी पनि भनिन्छ। यो दिन पनि भगवान् गणेशको आराधनाका लागि उपयुक्त दिन मानिन्छ।
भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी। सनातन धर्मावलम्बी महिलाको विशेष पर्व। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउछन्।
महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।
यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठलाई सप्तऋषि भनिन्छ। यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ।
सप्तऋषिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तऋषिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छ भन्ने मान्यता छ।
यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ ।
पूजा सकी महिलाहरू कर्कलाको तरकारीसँग भोजन गर्छन्। ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ।