५ असोज २०८०, शुक्रबार

ई–७ भिसामा नेपाली श्रमिक दक्षिण कोरिया पठाउने तयारी

लेखाजोखा न्यूज

२ असोज २०८०, मंगलबार ७:१९

काठमाडौं। सरकारले ई–७  भिसा  (उच्च  सिपयुक्त  जनशक्ति)मा नेपाली  श्रमिक  दक्षिण कोरिया पठाउनसकिने बताएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत साता काठमाडौँमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, श्रम सचिव, परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र दक्षिण कोरियाका लागि  नेपाली  राजदूतसँग भएको छलफलका  क्रममा सो सम्भावनाबारे बताइएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले नेपालबाट दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्तिको माग भएकाले पठाउन सकिने वा नसकिने भन्ने विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए। दक्षिण कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दक्षिण कोरियामा नेपालबाट उच्च सिपयुक्त जनशक्ति पठाउन सकिने र यसका लागि त्यहाँको मानव संसाधन मन्त्रालयसँग यस विषयमा कुरा गर्ने जानकारी दिए।

दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति कुन कुन क्षेत्रमा के कति सङ्ख्यामा पठाउन सकिने सम्भावना रहेको भन्नेबारेमा बुझेर नेपाल सरकारलाई जानकारी गराउने उनको भनाइ छ।

हाल दक्षिण कोरियामा रोजगार अनुुमति प्रणाली (इपिएस) को माध्यमबाट नेपाली श्रमिक, प्रशिक्षार्थी  श्रमिकका रूपमा र अध्ययन भिसामा नेपाली जाने गरेका छन् ।

सन् २००८ बाट इपिएस प्रणालीबाट दक्षिण कोरिया नेपाली श्रमिक जाने गरेका हुुन् । इपिएस प्रणाली अन्तर्गत अहिलेसम्म एक लाख बढी नेपाली श्रमिक दक्षिण कोरिया पुुगेका छन् । गत आर्थिक वर्ष मात्रै लगभग २१ हजार नेपाली इपिएसबाट दक्षिण कोरिया पुगेको वैदेशिक रोजगार  विभाग  अन्तर्गत  इपिएस  शाखाले  जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend