५ असोज २०८०, शुक्रबार

किन एकाएक बेपत्ता बनाइँदैछन् चिनियाँ नेता ?

लेखाजोखा न्यूज

१ असोज २०८०, सोमबार ७:४१

काठमाडाैं।  माओत्से तुङ ‘शक्ति बन्दुकको नालबाट निस्कन्छ’ भन्ने गर्थे।

अर्काे शब्दमा सैन्य शक्तिलाई नियन्त्रण गर्न सक्नु कुनै पनि नेताको सफलताका लागि महत्वपूर्ण हुन्छ। चीनका वर्तमान राष्ट्रपति सी चिनफिङले पनि माओत्से तुङको अवधारणालाई आत्मसात् गर्दै पिपुल्स लिबरेसन आर्मी (पिएलए) लाई आमूल परिवर्तन गरी झन्डै एकछत्र अधिकार स्थापित गरेका छन्। तर यो आमूल परिवर्तनले फल दिने बेलामा पिएलएको उच्च नेत्तृत्व तहले समेत यो शक्तिको लड्न सक्ने क्षमता र राष्ट्रपति सीको नेतृत्वमा प्रश्नचिह्न उठाएको छ।

अघिल्लो साताको अन्त्यदेखि चीनको रक्षामन्त्री र स्टेट काउन्सिलरसमेत रहेका ली साङफु बेपत्ता छन्। गत मार्चमा उक्त पदमा नियुक्त भएका ६५ वर्षीय लीलाई केही समयअघि सोधपुछका लागि गिरफ्तार गरिएको थियो। उनी पछिल्लो दुई सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन्।

ली बेपत्ता भएयता चीन सरकारले यस विषयमा कुनै सार्वजनिक जानकारी दिएको छैन। विदेश मन्त्रालयकी एक प्रवक्ताले नियमित ब्रिफिङमा यस विषयमा आफू जानकार नभएको बताएकी छन्।

विदेशमन्त्री बेपत्ता वा पदमुक्त भएको समाचार सही भएमा ६ वर्षयता चीनको केन्द्रीय सैन्य आयोगका सदस्यलाई भएको पहिलो कारबाही हुनेछ। मिलिटरी कमिसनले राष्ट्रपति सीको नेतृत्वमा चीनको सैन्य शक्तिलाई नियन्त्रण गर्दछ। पछिल्लो कारबाही र संकट चीनको पारम्परिक तथा आणविक शक्तिलाई समेत नियन्त्रण गर्दै आएको ‘रकेट फोर्स’भन्दा बाहिर पुगेको मानिएको छ।

गत जुलाईमा ‘रकेट फोर्स’का जनरल ली युचाओ र राजनीतिक कमिसार झु जोङ्घोलाई अकस्मात् पदमुक्त गरिएको थियो। यसो किन गरिएको भनेर कुनै कारण दिइएको थिएन। तर उनीहरूविरुद्ध भ्रष्टाचार अथवा सैन्य गोपनीयता चुहाएको आरोप लगाइएको मानिएको छ।

यसैगरी गत सेप्टेम्बर १ तारिखमा अलि कम हैसियतका पिएलएको सैनिक अदालतका अध्यक्ष मेजर जनलर चेङ डोङफाङलाई पदमुक्त गरिएको थियो। नियुक्तिको आठ महिनामै उनलाई पदमुक्त गरिएको थियो। यो कारबाहीका लागि पनि कुनै कारण दिइएन।

यी अधिकारीहरूको पतनले राष्ट्रपति सीको निर्णय क्षमता र व्यक्तिपरख गर्ने क्षमतामा प्रश्न उठेको छ। हालै चीनका परराष्ट्रमन्त्री क्विन ग्याङलाई अकस्मात् हटाइएको थियो। डिसेम्बरमा नियुक्त भएका उनलाई पदमुक्त गर्दा स्वास्थ्य अवस्थाको कारण दर्साइएको थियो।

पछिल्ला दिनमा हटाइएका चारैजना जनरल ‘रकेट फोर्स’सँग जोडिएका थिए। आणविक हतियारलाई स्तरीकरण गर्ने उद्देश्यले पछिल्ला वर्षमा ‘रकेट फोर्स’का लागि बजेट विनियोजन ह्वात्तै बढेको थियो। ठुलो सैनिक खर्चमा ठुलै भ्रष्टाचार नभए पनि केही दुरूपयोग भएको हुन सक्ने मानिएको छ।

राष्ट्रपति सीले रकेट फोर्समा नयाँ नेतृत्व यसअघिको संरक्षित ‘नेटवर्क’भन्दा बाहिरको व्यक्तिलाई छानेका छन्। संरक्षित नेटवर्कमा रहेका व्यक्तिहरूले विगतमा भ्रष्टाचार गरेको सन्दर्भमा यो पदमा नियुक्त गरिएका कमान्डर जनरल वाङ हाउविन नौसेना अधिकारी हुन्। यसैगरी रकेट फोर्सका नयाँ राजनीतिक कमिसार झु सिसेङ हवाईसेना पृष्ठभूमिका हुन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend