११ असोज २०८०, बिहिबार

एक महिनामै भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स

लेखाजोखा न्यूज

१ असोज २०८०, सोमबार ७:०३

काठमाडौं। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) सम्ममा रेमिट्यान्समार्फत १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ मुलुक भित्रिएको छ ।

गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मुलुक भित्रिएको रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको साउनमा रेमिट्यान्स वृद्धिदर २०.३ प्रतिशतले बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।’

गत आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च बन्दै आएको छ । मासिक रूपमा हेर्दा गएका १२ महिनामध्ये गत मंसिरदेखि साउनसम्म (नौ महिना) हरेक महिना १ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । गत साउनमा नेपाल भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । यसअनुसार गत साउनमा रेमिट्यान्समार्फत १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउनमा ९२.२ अर्ब, भदौमा ९४.८ अर्ब, असोजमा ९४ अर्ब, कात्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब ५० करोड, पुसमा १ खर्ब ४ अर्ब ६० करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, फागुनमा १ खर्ब ४ अर्ब ४० करोड, चैतमा १ खर्ब ९ अर्ब १० करोड, वैशाखमा १ खर्ब १ अर्ब, जेठमा १ खर्ब ७ अर्ब र असारमा १ खर्ब ८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलोमा ३९ हजार १ सय ५२ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधि श्रम स्वीकृति लिनेको संख्या करिब २१.१ प्रतिशतले घटेको हो । गत साउनमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १६ हजार ४ सय २३ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७५.४ प्रतिशतले बढेको थियो ।

बढ्दो रेमिट्यान्स, घट्दो आयातलगायत कारण अर्थतन्त्रका बाह्य सूचक बलिया भए पनि आन्तरिक अर्थतन्त्रका समस्या ज्युँका त्युँ रहेकाले आर्थिक गतिविधिमा देखिएको शिथिलता कायमै छ । गत साउन मसान्तसम्म राष्ट्र बैंकमा रहेको सरकारका विभिन्न खातामा २ खर्ब ८ अर्ब ९३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको राष्ट्र बैंकको तथ्यांक छ । ०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रुपैयाँ थियो ।

पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचक झनै बलियो बन्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend