११ असोज २०८०, बिहिबार

बोल्न नसक्ने भण्डारीले गैह्रीगाउँमा चारै जनाको हत्या गरेको स्वीकारे

लेखाजोखा न्यूज

३१ भाद्र २०८०, आइतबार ८:२०

काठमाडाैं। तीनकुने सामूहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका सञ्जय भण्डारीले चारैजनाको हत्या गरेको स्वीकार गरेका छन्।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भई काठमाडौंकाे काँडाघारी बस्दै आएका २३ वर्षिय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। बोल्न नसक्ने उनले खुकुरी प्रहार गरी दिव्य सःमिलभित्र चार जनाको हत्या गरेको प्रहरी समक्ष लेखेर स्वीकार गरेका छन् । उनले ‘आई किल फोर पिपल’ लेखेर अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रतिशोधका कारण बोल्न नसक्ने भण्डारीले विशाल राईको हत्या गर्ने क्रममा अन्य तीन जनाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए।

ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए। जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक-पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए।

‘कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने मिलमा गएका थिए,’ एसएसपी राठौरले भने, ‘मिलमा उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे। त्यसपछि मिलमा अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर अरू तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेको देखिन्छ।’

भण्डारीले सोही काष्ठ मिलमा गेट पालेको काम गर्ने दोलखाका ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र धनकुटा स्थायी घर भएका १९ वर्षका नविन राईको हत्या गरेका थिए।

चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदी-भिनाजुको घरमा गएर बसेका थिए।

आइतबार बिहान उनी काठमाडौंमा प्रहरीले आफूलाई पक्रन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका थिए।

प्रहरीले आरोपी भण्डारी बोल्न नसक्ने हुँदा दोभासेको सहयोगमा बयान लिएको जनाएको छ।

‘प्रहरीले उनलाई सिन्धुपाल्चोक जान लाग्दा पक्राउ गरेको हो,’ राठौरले भने,‘पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए।’

भण्डारीले सिन्धुपाल्चोकमा ८ सम्म र काठमाडौंमा १२ कक्षासम्म सांकेतिक भाषामा पढेका थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend