काठमाडाैं। बालबालिकाको मात्रै उपचार हुने विशिष्टीकृत एक मात्र सरकारी अस्पताल कान्तिमा देशभरबाट बिरामी आउँछन्।
तर, केही कर्मचारीले कमिसनको लोभमा दूरदराजबाट आउने विपन्न बिरामीलाई अनेक बहानामा निजी अस्पतालमा पठाउँछन्, छेउमै रहेको शिक्षण अस्पतालको नामसमेत लिँदैनन् ।
१. आइसियू छैन भन्दै अप्रेसन गर्न निजीमा पठाइयो
जन्मँदै मुटुमा प्वाल परेको ६ महिने छोराको अप्रेसन गर्न भन्दै पाल्पा रामपुरकी बिनु क्षेत्री काठमाडौं आइन् । तर, काठमाडौं आएलगत्तै बच्चालाई ज्वरो र निमोनिया देखियो । १४ भदौमा उनी छोरा बोकेर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा पुगिन् । तर, ज्वरो र निमोनियासमेत भएको शिशुलाई आइसियू छैन भन्दै अस्पतालले फिर्ता पठाइदियो । कान्तिकै डाक्टरको सिफारिसमा उनले बिरामीलाई कलंकीस्थित नेसनल अस्पताल पुर्याइन् । ‘कान्तिमा भर्ना नलिएपछि त्यहीँका डाक्टरको सिफारिसमा नेसनल अस्पताल पुर्याएँ । छोरालाई निमोनिया भइसकेको रहेछ । ११ दिन आइसियूमा राख्नुपर्यो,’ उनले भनिन् । बिनुका श्रीमान् हाल विदेशमा छन् । मुटुमा प्वाल परेको समस्या लिएर अप्रेसन गर्न आएकी उनले शिशुको उपचारमा अहिलेसम्म तीन लाख खर्च गरिसकेकी छिन् । तर, अप्रेसनको प्रक्रिया भने सुरु भएको छैन ।
२. कान्तिका सेक्युरिटी गार्डले निजी अस्पतालमा पठाएका कैलालीका कृष्ण रोकायाले सिध्याए पाँच लाख
कैलाली घोडाघोडीका कृष्ण रोकायाले १२ भदौ बेलुकी ६ः१५ मा पाँच वर्षीय छोरा अर्पणलाई कान्ति अस्पताल पुर्याए । उच्च ज्वरो आएपछि धनगढी हुँदै जहाज चढेर उपचार गर्न आएका उनलाई कान्ति अस्पतालको गेटबाटै फर्काइयो । कृष्णले टाढाबाट आएको र बच्चाको अवस्था सिकिस्त रहेको बताउँदै गार्डसँग अनुनय गरे । गार्डले जेनतेन ढोकाबाट भित्र छिर्न दिए, तर डाक्टरले बेड खाली नभएको भन्दै बिरामी लिन मानेनन् । इमर्जेन्सीको गेटमा उभिएका सेक्युरिटी गार्डले कृष्णलाई कलंकीमा रहेको नेसनल अस्पतालमा लैजान भने । बच्चाको राम्रो उपचार हुने अस्पताल थाहा नभएका कृष्णले गार्डको कुरा सुनेर बच्चालाई सोही अस्पताल लगे । त्यहाँ पाँच दिनसम्म भेन्टिलेटरमा राखेर उपचार भयो । नेसनल अस्पतालले भेन्टिलेटरमा राखेको दैनिक २५ हजार शुल्क लिने गरेको छ । भेन्टिलेटर, औषधि र सामान्य बेडमा राखेर उपचार गर्दा कृष्णको हालसम्म पाँच लाख खर्च भइसकेको छ । ‘सरकारी अस्पताल सस्तो र राम्रो छ भन्ने सुनेर कैलालीदेखि बच्चा कान्तिमा पुर्याएँ, तर त्यहाँ त उपचार गर्नै मानेनन्,’ उनले गुनासो गरे, ‘टाढाबाट आएको बताउँदासमेत कुनै प्रतिक्रिया दिएनन्, सेक्युरिटी गार्ड र इमर्जेन्सीका डाक्टरले नेसनल अस्पताल लैजान भनेका थिए, तर यहाँ निकै महँगो रहेछ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।