काठमाडैं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा रुवाबासी चलेको बताएका छन्।
नेपालमा जन्मिएका पिपलपाते पार्टीको कुरा सुनेर काँग्रेस रुन थालेको उनको भनाई छ।
कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिको आयोजनामा भएको दोस्रो नगर सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ सालमा चुनाव हारिन्छ भन्दै कांग्रेसमा रुवाबासी सुरुभएको सुनाए ।
‘अहिले हामी सकियो सकियो सकियो भनिरहेको छौं । ०६० सालको अवस्थामा पनि हामी सकियो भनेका थियौ । कोही मान्छे २०८० सालमा आएर ०६० सालमा फर्किन चाहन्छ ? ०७९ सालमा चुनाव भयो जताततै चुनाव हुइकेको छ । संघमा चुनाव जितेको छ । ठुलो पार्टी बनेको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री, लुम्बिनी प्रदेशमा यहि मुख्यमन्त्री, सुदूरपश्चिममा मुख्यमन्त्री, यता ठोक्यो वडा अध्यक्ष उता ठोक्यो मेयर । चुनाव लड्छ जित्छ अनि कांग्रेसले देशभरको कार्यक्रममा रुवावासी चल्छ । रुवावासी के मा भन्दा ०८४ सालको चुनाव हारिन्छ’ उनले भने, ‘०७९ सालमा चुनाव जित्ने चुनाव आउन चार वर्ष छ । केही दिनपछि, केही हप्ता त्यो नि नभए केही महिनापछि संघको प्रधानमन्त्री कांग्रेस । सबै प्रदेशको मुख्य मन्त्री कांग्रेस मेयर कांग्रेस । सबैभन्दा ठुलो पार्टी हामी बन्ने अनि ०८४ मा चुनाव हारिन्छ की भनेर छाती ठोकेर रुवावासी । मैले कांग्रेस रोयो भन्छु । किन रोयो भन्दा खेरी चुनाव हारिन्छ भनेर ।’
कांग्रेसभित्र मौलाएको विकृतिका कारण त्रासको वातावरण सिर्जना भएको उनको भनाई थियो । पार्टी चुनाव जित्नका लागि मात्र नभई देश विकास र परिवर्तनको नेतृत्व गर्ने भएकाले जस्तो सुकै चुनौती आएपनि त्यसको सामना गर्न सधैँ तयार हुन उनले अनुरोध गरे । पार्टीका कार्यकर्ता बीचमै अलमलिएको र त्यो बाट निस्कनुपर्ने बताए । देशको अर्थ, उत्पादन, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रको शक्तिसंग कांग्रेस जोडिएको पार्टी भएपनि आफैंलाई सानो बनाउने काम भएको छ ।